पराजित रियल मेड्रिड फाइनलमा

0
Shares

मेड्रिड, (एजेन्सी)
रियल मेड्रिड सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा पराजय बावजुद यूएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा घरेलु टोली एट्लेटिको मेड्रिडसँग २–१ ले पराजित भए पनि समग्रमा ४–२ को जित दर्ता गराएर रियल मेड्रिड प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।

खेलको शुरूआतमा निकै आक्रामक देखिएको एट्लेटिकोले खेलको १६ मिनेटभित्र २ गोल गर्दै सेमिफाइनल पुग्ने छाँटकाँट देखाएका थिए। खेलको १२औं मिनेटमा साउल निगुएजले कर्नरबाट प्राप्त बलमा हेडमार्फत् गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। त्यसको केही मिनेटमै फर्नान्डो टोरेसलाई डि बक्सभित्र रियलका राफेल भारानेले लडाएपछि एट्लेटिकोले पेनाल्टी हान्ने अवसर पायो। जसलाई खेलको १६औं मिनेटमा एन्टोइन ग्रिजम्यानले गोलमा परिणत गर्दै एट्लेटिकोलाई २–० ले अघि राखे। यता रियलले पहिलो हाफ सकिन ३ मिनेट अगाडि एक गोल फर्काएपछि एट्लेटिकोको सेमिफाइनल यात्रा थप कठिन बन्न पुग्यो।

टोनी क्रुसको प्रहारलाई गोलरक्षक यान ओब्लाकले फर्काउने क्रममा रिबाउन्ड भएको बलमा इस्कोले गोल गर्दै एट्लेटिकोको सम्भावनालाई क्षिण पारेका थिए। उक्त गोलपछि एट्लेटिकोलाई सेमिफाइनल पुग्न थप ३ गोल आवश्यक बन्यो। जसका लागि एट्लेटिकोले भरमग्दुर प्रयास पनि गरेका थिए। तर, रियलका गोलरक्षक नाभासले उत्कृष्ट प्रदर्शन गरेपछि खेलको बाँकी समयमा कुनै गोल हुन सकेन।

पहिलो लेगमा ३–० को जित नै रियलका लागि फाइनल पुग्ने आधार बनेको थियो। रियलले उपाधिका लागि युभेन्टससँगको भिडन्त तय गरेको छ। योसँगै रियल लगालग दोस्रोपटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो। पछिल्ला चार संस्करणमध्ये रियलले सन् २०१४ र २०१६ मा गरी दुई पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ।