विजेताले २० लाख पाउने क्रिकेट हुँदै

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
विजेता टोलीले २० लाख नगद प्राप्त हुने सर्वाधिक राशिको ‘प्रथम प्रधानमन्त्री कप’ एकदिवसिय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ।
नेपालको क्रिकेटमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता जेठ ९ गतेबाट शुरू हुने पनि बिहीबार आयोजित पत्रकार सम्मेलनमा तय गरियो। राष्ट्रिय खेलकुद परिषद् र काठमाडौं क्रिकेट ट्रेनिङबीचको समन्वयमा हुने प्रतियोगिताको उपविजेताले १० लाख रुपियाँ हात पार्नेछ।

यसै गरी सेमिफाइनलमा पुग्ने दुई टोलीले ५०–५० हजार नगद प्राप्त गर्नेछन्। त्यस्तै प्रत्येक लिग खेल जित्ने टोलीको हातमा २५ हजार नगद प्राप्त हुनेछ। प्रतियोगिताको म्यान अफ दि सिरिज हुने खेलाडीले १ लाख रुपियाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपियाँ पुरस्कार पाउनेछन्।
जेठ १४ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्रसहित विभागीय टोलीहरू नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन्। लिग कम नकआउटका आधारमा हुने प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन्।

खेलाडी छनोट पनि यसैबाट
विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङसँगको खेलको छनोट र तयारीको रूपमा यस प्रतियोगिता आयोजना गरेको राखेपले बताएको छ। यसै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनको आधारमा हङकङसँग हुने खेलका लागि खेलाडी छनोट गरिने नेपाली टोलीका मुख्य प्रशिक्षक जगत् टमाटाले पत्रकार सम्मेलनमा जानकारी दिए। नेपाल र हङकङबीचको खेल आगामी अक्टोबरमा हुनेछ।

प्रतियोगिताका लागि राखेपले २५ लाख छुट्टाएको राखेप सदस्य–सचिव केशव कुमार विष्टले जानकारी दिए। रुस्लान क्रिकेट मुख्य प्रायोजक रहेको प्रतियोगितामा सहभागी हुने टोलीलाई तयारी खर्चका लागि ५० हजार प्रदान गरिनेसमेत सदस्य–सचिव विष्टले जानकारी दिए। यस्तै सदस्य–सचिव विष्टले नेपालमा पछिल्लो ३ वर्षबाट एक दिवसिय क्रिकेट हुन नसकेको र क्रिकेट विकासमा थप टेवा पुगोस् भन्ने उद्देश्यले प्रतियोगिता योजना गर्न लागेको बताए।

प्रतियोगिता सञ्चालन गर्न करिब १ करोड १० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ। यसमा राखेपले ७५ लाख खर्च व्यहोर्ने र बाँकी केसीटीसीले विभिन्न स्रोतबाट सहयोग जुटाउने सहमति भएको जानकारी दियो। सदस्य–सचिव विष्टले परिषद्ले व्यहोर्ने कुल रकममध्ये ५० लाखको व्यवस्था भइसकेको र बाँकी २५ लाख माग गरिएको बताउँदै अर्को संस्करणका लागि १ करोड माग गरिएको अवगत गराए।