प्रधानमन्त्रीद्वारा महेश्वर सम्मानित

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
पचासौं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गरेका महेश्वर महर्जनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार सम्मान गर्नुभएको छ। सोही प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेका प्रशिक्षक ज्ञानेन्द्र नकर्मीलाई पनि सम्मान गरियो। प्रधानमन्त्री निवास बालुवाटारमा अखिल नेपाल खेलकुद संघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले महेश्वर र नकर्मीलाई सम्मान पत्र पदान गरी सम्मान गर्नुभयो।

सन् २०१६ को सेप्टेम्बरमा भुटानको थिम्पुमा भएको एसियाली शारीरिक सुगठनको पुरुष ७५ केजी तौलसमूहमा महेश्वरले स्वर्ण जितेका थिए। एसियाली शारीरिक सुगठनमा स्वर्ण जित्ने महेश्वर एक्लो नेपाली खेलाडी हुन्।

कार्यक्रममा प्रधानमन्त्री दाहालले खेल क्षेत्रको विकासले युवाहरूको शारीरिक र बौद्धिक विकास गर्नुका साथै देशको गरिमा र स्वाभिमान बढाउने धारणा व्यक्त गर्नुका साथै खेल क्षेत्रको विकासका लागि सरकारले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो।

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले पदक विजेता महेश्वरलाई १ लाख र प्रशिक्षक नकर्मीलाई ५० हजार नगदबाट पुरस्कृत गर्ने घोषणा गर्नुभयो।