युभेन्ट्स च्याम्पियन्स लिगको फाइनलमा

0
Shares

लन्डन, (एजेन्सी)
इटालियन सिरी ए च्याम्पियन युभेन्ट्स जारी सिजनको यूएफा च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगिताअन्तर्गत सेमीफाइनल चरणको दोस्रो लेगमा फ्रेन्च टोली मोनाकोलाई २–१ ले हराएपछि समग्रमा ४–१ को अग्रता लिँदै युभेन्ट्स फाइनलमा पुगेको हो। टोलीको यो तीन वर्षमा दोस्रो पटक फाइनल प्रवेश हो।

मंगलबार राति टुरिनस्थित युभेन्ट्सको घरेलु मैदानमा भएको खेलमा मारियो मान्डजुकिचले खेलको ३३औं मिनेटमा पहिलो गोल गरेका थिए। यस्तै पहिलो हाफको नियमित समय सकिन केही क्षण बाँकी रहेको अवस्थामा ड्यानी आल्भेजले लामो दूरीबाट गरेको प्रहार शानदार गोलमा परिणत भएपछि युभेन्ट्सको अग्रता दोब्बर बन्यो।

पहिलो हाफसम्म दुई गोलले अग्रता लिएको युभेन्ट्सलाई खेलको ६९औं मिनेटमा झट्का लाग्यो। च्याम्पियन्स लिगको पछिल्ला ६ खेलसम्म गोल नबेहोरेको युभेन्ट्सले गोलको स्वाद चाख्यो। युभेन्ट्सका भेट्रान गोलरक्षक बुफोनलाई जिल्लाउँदै किलिएन बाप्पेले जोआओ मोउटिन्होको पासलाई सदुपयोग गर्दै मोनाकोका लागि सान्त्वना गोल फर्काए। योसँगै बाप्पे च्याम्पियन्स लिगको सेमिफाइनलमा गोल गर्ने कान्छा खेलाडीसमेत बने। उनले १८ वर्ष १ सय ४० दिनमा उक्त गोल गरेका हुन्। उक्त गोल च्याम्पियन्स लिगमा बुफोनका लागि ६ सय मिनेटपछि पहिलो बन्यो।

जितसँगै फाइनल पुगेको युभेन्ट्सले रियल मेड्रिड र एट्लेटिको मेड्रिडबीच हुने खेलको विजेतासँग उपाधिका लागि भिड्नेछ। पहिलो लेगमा रियल मेड्रिड ३–० ले विजयी भएको थियो। युभेन्ट्सले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो। यस्तै सन् २०१५ मा फाइनलमा पुगेको युभेन्टस् बार्सिलोनासँग ३–१ ले पराजित भएपछि उपविजेतामै चित्त बुझाउनुपरेको थियो।
बुफोन ६ सय मिनेटपछि

गोल आत्मसात

च्याम्पियन्स लिगअन्तर्गत पछिल्ला ६ खेलमा बुफोनले कुनै पनि गोल बेहोरेका थिएनन्। यो सँगै उनी च्याम्पियन्स लिगको इतिहासमा लामो समयसम्म गोल नबेहोर्ने गोलरक्षक सूचीको पाँचौं स्थानमा उभिएका छन्।

उक्त सूचीको पहिलो स्थानमा जेन्स लेहम्यान रहेका छन्। सन् २००५–०६ सिजनको च्याम्पियन्स लिगमा आर्सेनलका गोलरक्षक जेन्सले ८ सय ५३ मिनेटसम्म कुनै गोल बेहोरेका थिएनन्।