सात कलाकर्मी सम्मानित

0
Shares

श्रीलुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले बुधबार आफ्नो २३ औं स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रका ७ कलाकर्मीलाई सम्मान गरेको छ। मन्दिरले नेपाली कला क्षेत्रमा आफ्नो गहनतम् रचनामार्फत ६ दशकदेखि सक्रिय लेखनले समग्र नेपाली वाङ्मय क्षेत्रको समृद्धि र प्रतिष्ठामा विशिष्ट योगदान पुर्याएवापत् गीतकार कालिप्रसाद रिजाललाई काव्य सरस्वती सम्मानबाट सम्मान गरेको छ।

त्यस्तै आधुनिक संगीतको क्षेत्रलाई ५ दशकदेखि गायन तथा संगीतको माध्यमबाट पृथक शैलीका साथ प्रतिष्ठित बनाएवापत् गायक तथा संगीतकार दीप श्रेष्ठलाई नारायण गोपाल संगीत सम्मानबाट सम्मानित गरेको छ। त्यसै गरी ललितकला क्षेत्रमा आफ्ना चित्रकलामार्फत ५ दशकभन्दा लामो समयदेखि योगदान पुर्याएवापत उत्तम नेपालीलाई अरनिको ललितकला सम्मान, आधुनिक रंगमञ्चको क्षेत्रमा नाटक लेखन तथा निर्देशनमार्फत योगदान पुर्याएवापत महेन्द्र मलङ्गियालाई बालकृषण सम रङ्ग सम्मानबाट सम्मानित गरिएको छ।

सो अवसरमा सशक्त साहित्य सिर्जनामार्फत नेपाली साहित्यको समृद्धि र प्रचारका लागि ५ दशकदेखि पुर्याएको योगदानका लागि गंगादेवी चौधरी स्मृति सम्मानबाट साहित्यकार तोया गुरुङ, इतिहास र नेपाली मैथिली संस्कृति उत्थानमा आफ्ना गम्भिर र शोधमूलक कृतिमार्फत योगदान पुर्याएवापत प्रा. हरिकान्तलाल दासलाई इतिहास शिरोमणि बाबु्राम आचार्य शोध सम्मान, धावनको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको कीर्तिमान राखेवापत धावक मीरा राईलाई नेपाल नव प्रतिभा सम्मानबाट सम्मानित गरीएको छ।

समारोहमा कवियत्री तोया गुरुङलाई १ लाख तथा अन्य सम्मानित व्यक्तित्वलाई जनही ५१ हजार रुपियाँ प्रदान गरिएको थियो। कार्यक्रमा बोल्दै मन्दिरका अध्यक्ष वसन्त चौधरीले नेपाली राजनीति अहिले अत्यन्तै अस्थिर र दिशाहीन पथबाट गुज्रिरहेकोमा चिन्ता व्यक्त गर्दै यस्तो प्रतिकूल राजनीतिबाट बिल्कुलै हतोत्साहित नभइ रातदिन आफ्नो कामप्रति मात्र चिन्तित र चिन्तनशील रही देशलाई आफ्नो उर्जा र सीपले सम्पन्न बनाउन प्रतिबद्ध ठूलो जमातको प्रशंसा गरे। ‘यसको ज्वलन्त उदाहरण आजका युवा रङ्गकर्मीहरुलाई लिन सकिन्छ।

उनीहरु जनआन्दोलनमा पनि रंगमञ्चकै माध्यमले आन्दोलन गरिरहेका थिए र आजको विषम परिस्थितिमा पनि आफ्नो जिवन्त रङ्गमञ्चीय प्रस्तुतिमार्फत चरितार्थ गरेका छन्। फलतः हरेक नाट्यशालामा नाटकमञ्चनको मेला लागेको छ। हरेकपटक नयाँनयाँ शैली र प्रस्तुतिले रङ्गमञ्चलाई साँचो अर्थमा रङ्गीन बनाउने काम गरिरहेको छ। नयाँनयाँ सर्जक र सिर्जनाहरु जन्मिन्छन्। त्यसैले देशको राजनीति जस्तै विसङ्गत बाटोमा डोरियोस, सिर्जना अवरुद्ध हुने छैन’ चौधरीले भने– ‘आगामी वर्षहरुमा पनि सम्मानको कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कामहरु गर्ने प्रण गरेका छौं।’

त्यसै गरी मन्दिरकी कोषाध्यक्ष मेघा चौधरीले आफ्ना हजुरबुवा र हजुरआमाको नाममा स्थापित सम्मानबाट अग्रज स्रष्टालाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। त्यस्तै सम्मानितका तर्पmबाट बोल्दै गायक दीप श्रेष्ठले व्यापारिक घरानाका अगुवा व्यक्तिको नाममा रहेको सम्मान पाउनु गर्वको विषय भएको बताए। सो अवसरमा गीतकार तथा साहित्यकार वसन्त चौधरीको जीवन मन्त्र नामक मिनी पुस्तक प्राध्यापक त्रिरत्न मानन्धरले सार्वजनिक गरेका थिए।