दक्षिण कोरियाका नयाँ राष्ट्रपतिमा मुन जाय उत्तर कोरियाको भ्रमण गर्ने इच्छा व्यक्त


सोल, (एजेन्सी)
दक्षिण कोरियाका नयाँ राष्ट्रपति मुन जायले उपयुक्त परिस्थितिमा प्रतिद्वन्द्वी उत्तर कोरियाको भ्रमण गर्न इच्छुक रहेको बताएका छन्।

मंगलबार नै राष्ट्रपति पदको शपथग्रहण गर्ने क्रममा मुनले उक्त कुरा बताएका थिए। उनले यस विषयमा धेरै लम्ब्याएनन्। तर उनले उत्तर कोरिया र उसको परमाणु तथा क्षेप्यास्त्र महत्त्वाकांक्षालाई लिएर उनका अनुदारवादी अग्रजको भन्दा नरम नीतिलाई जोड दिने संकेत दिएका छन्।

मुनले दक्षिणमा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथलाई जारी राख्ने विषयमा दक्षिणको प्रमुख सहयोगी अमेरिका र सोलको प्रमुख व्यापारीक साझेदार चीनसँग वार्ता गर्ने बताए। बेइजिङले उक्त प्रणालीबाट वासिङ्टनले चीनको सैन्य गुप्तचर गर्न सक्ने बताउँदै आइरहेको छ।

नेसनल कमिसनले विजेता घोषणा गरेपछि बुधबार बिहान मात्रै राष्ट्रपति पदको शपथ लिने अनुमान गरिएका मुनले मंगलबार मध्यराति नै शपथग्रहण गरेका थिए। पार्क गेन हेलाई महाअभियोगद्वारा राष्ट्रपतिबाट हटाइएपछि समयअगाडि नै भएको उक्त चुनावमा मुन विजयी भएका हुन्। भ्रष्टाचारको आरोपमा दोषी ठहरिएकी पार्कले जेल सजाय पाएकी छिन्।

यसैबीच जापानका प्रधानमन्त्री सिन्जो आबेले दक्षिण कोरियाका नयाँ राष्«टपति मुनलाई बधाई दिएका छन्। उनले उत्तर कोरियाको खतरासँग जुध्न तथा उनीहरूबीचको सम्बन्ध विकासका लागि मिलेर काम गर्ने अपेक्षा गरेको बताए।
त्यसैगरी चीनका राष्ट्रपति सी जिनपिङ र फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले पनि नयाँ राष्ट्रपति मुनलाई बधाई दिएका छन्। राष्ट्रपति सीको बधाई सन्देशलाई सिन्ह्वाले एक हरफमा टुंग्याएको थियो। सोलले अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथ गरेकामा रुष्ट रहेको चीन र दक्षिण कोरियाबीचको सम्बन्ध १९९२ मा कूटनीतिक सम्बन्ध स्थापनापछिकै सबैभन्दा खराब स्थितिमा छ।

वामपन्थी झुकाव भएका मुन डेमोक्रइटिक पार्टी अफ कोरियाबाट राष्ट्रपतिमा विजयी भएका हुन्। मुन उत्तर कोरियासँग वार्ताको पक्षमा छन् तर पूर्वराष्टपति पार्क प्योङयाङसँग सबै प्रकारको सम्बन्ध अन्त्य गर्ने पक्षमा थिइन्।
सन् २०१२ को राष्ट्रपति चुनावमा मुन जाय पार्कसँग झिनो अन्तरले पराजित भएका थिए।

को हुन मुन ?

मुन जाय आफ्नी अग्रज पार्क गुयन हेका पिताको विरोध गरेका कारण जेल परेका थिए। अहिले भ्रष्टाचारको आरोपमा पार्क जेलमा छिन् र एक शरणार्थीका छोरा मुन दक्षिण कोरियाली सत्ताको शिखरमा पुगेका छन्।

मुनको जीवनको पूर्वाद्र्धकाल गरीबीमा बितेको थियो। उनकी आमा उनलाई पिठमा बोकेर अन्डा बेच्थिन्। कोरियाली युद्धको बेला मुनका मातापिता उत्तरबाट पलायन भएका थिए। सन् १९५३ मा जब मुन जाय इनको जन्म भयो त्यतिबेला उनीहरू दक्षिणी द्विप जेओजेमा बस्थे।

मुनको जीवनीअनुसार उनका पिता युद्धबन्दीहरूको एक शिविरमा काम गर्थे भने उनकी आमा बन्दरगाह नगर बुसानको सडकमा अन्डा बेच्थिन्।

मुनले उदारवादी राष्ट्रपति रोह मु ह्युनका वरिष्ठ सहयोगीका रूपमा काम गरिसकेका छन्। राष्ट्रपति रोह मुले सन् २००९ मा भ्रष्टाचारको आरोप लागेपछि आत्महत्या गरेका थिए।

मुनको नेपालसँगको भावनात्मक सम्बन्ध पनि गहिरो छ। सन् २०१५ अप्रिल २५ मा नेपालमा आएको विनाशकारी भूकम्पमा पीडित नेपालीको सहायताका लागि उनी आफै नेपाल आएका थिए।