वैदेशिक व्यापार बढ्यो


हेमन्त जोशी, काठमाडौं

चालू आर्थिक वर्षको समीक्षा अवधिमा नेपालको कुल निकासी ९ दशमलब ९ प्रतिशत र पैठारीमा ४ प्रतिशतले वृद्धि भएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्यांकअनुसार यस अवधिमा मुलुकको वैदेशिक व्यापारमा ५५ अर्ब २६ करोड रुपियाँ बराबरको निकासी र ७ खर्ब २६ अर्ब २ करोड रुपियाँ बराबरको पैठारी भएको छ।

अघिल्लो आर्थिक वर्षको प्रथम नौ महिनाको अवधिमा १ रुपियाँ बराबरको निकासी र पैठारी व्यापारको अनुपात १ बराबर १० दशमलब ४ भएकोमा चालू आर्थिक वर्षकोे सोही अवधिमा निकासी र पैठारी व्यापारको अनुपात १ बराबर १३ दशमलब १ रहन पुगेको छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको प्रथम नौ महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ दशमलब ९ प्रतिशतले वृद्धि भई ७ खर्ब ८१ अर्ब २८ करोड रुपियाँ पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७ दशमलब १ प्रतिशत र ९२ दशमलब ९ प्रतिशत रहेको छ।

यस अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरू मुख्य रहेका छन्। त्यस्तै हस्तकलाका सामान, चाउचाउ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि वस्तुको पनि निर्यात भएकोछ। समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊनी गलैंचाको निर्यातमा ५ दशमलब ४ प्रतिशतले ह्रास आई ५ अर्ब ६६ करोड रुपियाँ बराबरमात्र निर्यात भएको छ। तयारी पोशाकको निर्यातमा ९ दशमलब ६ प्रतिशतले ह्रास आई ३ अर्व ९७ करोड पुगेको छ।
यसैगरी फलाम तथा स्टील र तिनका उत्पादनहरूको निर्यातमा २० प्रतिशतले वृद्धि भर्ई ४ अर्व २७ करोड रुपियाँ, पोलिष्टर तथा अन्य धागोमा ३२ प्रतिशतले वृद्धि भई ४ अर्व ८१ करोड रुपियाँ, मुसुरोको दालमा ४ प्रतिशतले वृद्धि भई ६३ करोड रुपियाँ पुगेको छ।
सोही अवधिमा ५२ करोड रुपियाँको छाला, ३ अर्ब ८ करोड रुपियाँको अलैंची, १ अर्व ८८ करोड रुपियाँको चिया, १९ करोडको अदुवा, ६४ करोडको चाउचाउ, ५८ करोडको जडिबुटी, ५० करोडको टुथपेष्ट, ३ अर्ब ८५ करोड रुपियाँको टेक्सटाइल, १ अर्ब ८९ करोड रुपियाँको पश्मिना सल, ४५ करोडको हस्तकलाका सामान र ५३ करोड रुपियाँँको नेपाली हातेकागज निकासी भएकोछ।

पैठारीतर्फ यस अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा ४९ दशमलब ९ प्रतिशतले वृद्धि भएकोछ। नौ महिना अवधिमा ७६ अर्ब ९० करोड रुपियाँको फलाम तथा स्टिलका वस्तु आयात भएकोछ। पेट्रोलियम पदार्थमा १ सय १२ दशलमब ३ प्रतिशतले वृद्धि भई ८७ दशमदब ३९ अर्ब रुपियाँ पुगेको छ।

यातायातका साधन र तिनका पार्टपूर्जाको आयातमा ५९ दशमलब ७ प्रतिशतले वृद्धि भई ६३ अर्ब ३० करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्रीमा २५ दशमलब ३ प्रतिशतले वृद्धि भई २९ अर्व ४७ करोड रुपियाँ पुगेकोछ।
मेसिनरी तथा पार्ट्समा ७१ दशमलब १ प्रतिशत, पोलिथिन ग्रेन्युल्समा ९ दशमलब ३ प्रतिशत कच्चा पाम आयलमा ७८ दशमलब १ प्रतिशत, दूरसञ्चारका सामग्रीमा ४२ दशमलब ३ प्रतिशतले, रसायनमा ६ दशमलब १ प्रतिशतले वृद्धि भएको छ। यसैगरी समीक्षा अवधिमा १९ अर्ब २५ करोड रुपियाँ बराबरको सुन, ६ अर्ब ७० करोड रुपियाँ बराबरको चाँदी आयात भएको छ।