उपत्यकामा यसरी बन्दै छन् नयाँ नगर


मधुसूदन रायमाझी,काठमाडौं

काठमाडौं उपत्यकाका चार क्षेत्रमा नयाँ शहर निर्माण गरिने भएको छ। शहरी विकास मन्त्रालयले बढ्दो शहरीकरणलाई व्यवस्थित गर्न उपत्यकाका चार क्षेत्रमा नयाँ नगरहरूको निर्माण गर्ने भएको हो।

काठमाडौं उपत्यका भौतिक विकास समितिको बैठकले उपत्यकाभित्रका चार दिशामा चार नयाँ नगरहरू निर्माण गर्ने निर्णय गरेको हो।

शहरी विकास मन्त्री अर्जुननरसिंह केसीको पहलमा उपत्यकाभित्रका चारवटै दिशाहरूमा ४ वटा नयाँ नगरहरू निर्माण गर्नका लागि सो क्षेत्रमा भौतिक परिवर्तन र टुक्र््याउन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ।

शहरी विकास मन्त्रालयका प्रवक्ता डा. रमेशप्रसाद सिंहले मन्त्रालयले निर्णय गरेअनुसार तोकिएको चार दिशाको जग्गा टुक्र््याउन नपाउने निर्णय भएको बताउनुभयो।

नदी क्षेत्रको विकास, सडक सञ्जाल विकास, प्रशासनिक केन्द्र, संस्थागत क्षेत्र, सम्पदा क्षेत्रको संरक्षण, व्यापारिक क्षेत्र, आवासीय क्षेत्र, मनोरञ्जन, अस्पताल एवं खेलुकद क्षेत्र, पार्क एवं उद्यान क्षेत्र रहने गरी नयाँ नगरको निर्माण गर्ने योजना मन्त्रालयले अगाडि सारेको छ।

मन्त्रालयका प्रवक्ता सिंहले भौतिक आर्थिक सांस्कृतिक तथा वातावरणीय विकास गरी काठमाडौं उपत्यकालाई र राजधानी क्षेत्रको विकास गर्ने गरी नयाँ नगर निर्माणको योजना अगाडि सारिएको बताउनुभयो।

स्वीकृत गरिएको चारवटा नगरहरूमध्ये काठमाडौंको पूर्व–उत्तरमा करिब १ लाख रोपनी क्षेत्रफल ओगटेको नयाँ नगरको निर्माण हुनेछ। सहरको संरचना जग्गा एकीकरणको माध्यमबाट निजी जग्गाधनीहरूसमेतको संलग्नतामा सम्पन्न गरिने मन्त्रालयका प्रवक्ता सिंहले बताउनुभयो।
उहाँका अनुसार नयाँ नगर निर्माणमा अन्तर्राष्ट्रिय स्टेट अफ आर्ट शहर निर्माण गर्न सम्बन्धित विज्ञहरूको सेवा परामर्श लिइनेछ।

त्यसै गरी काठमाडौंको दक्षिण–पश्चिम, पूर्व–दक्षिण र उत्तर दिशामा १०÷१० हजार रोपनी क्षेत्रफल ओगटेको नयाँ नगरको भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्न सार्वजनिक क्षेत्रबाट १० अर्ब र निजी क्षेत्रबाट ४० अर्ब रुपियाँ लाग्ने अनुमान मन्त्रालयले गरेको छ। यी नयाँ नगरहरूमा पनि जग्गा एकीकरणको प्रक्रियाद्वारा व्यवस्थित सहरीकरण गरिने मन्त्रायलले बताएको छ।

काठमाडौं उपत्यकाभित्र नयाँ नगरको चार किल्लासहित आयोजनाको विस्तृत आयोजना प्रतिवेदन तयार गरी नगर निर्माणको कार्य अगाडि बढाइने भएको छ। चारमध्ये पूर्व–उत्तरको नयाँ नगर पहिलो प्राथमिकतामा रहेकाले तत्काल अगाडि बढाइने मन्त्रालयले बताएको छ।

कहाँ–कहाँ बन्दै छ नयाँ नगर ?

काठमाडौैको पूर्व भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याडसम्म, पश्चिम जोरपाटी, क्रिकेट स्टेडियम, मुलपानी, गोठाटार मनहरा पुल भक्तपुर जाने पुरानो बाटो, उत्तर साँखु बजार, साँखु जाने मूल सडक र दक्षिणको भक्तपुर पुरानो बाटो रहेका छन्।

यस क्षेत्रमा नयाँ नगर निर्माण गर्न ८० अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ। नगर निर्माणका लागि निजी क्षेत्रबाट झण्डै ४ सय अर्ब र सार्वजनिक क्षेत्रबाट २ सय अर्ब रुपियाँ संकलन गरिनेछ। पाँच वर्षभित्र करिब १ सय अर्ब लगानी हुने अनुमान शहरी विकास मन्त्रालयले गरेको छ। १० हजार रोपनीमा निर्माण हुनेछ। ५ देखि २० वर्षको अवधिमा ४ सय अर्ब रुपियाँ लगानी लाग्ने अनुमान गरिएको छ।

काठमाडौं पूर्व–दक्षिणअन्तर्गत उपत्यकाभित्र भक्तपुर, जिल्लाको भुक्तपुर नयाँ शहर विस्तार क्षेत्र, कटुन्जे, गुण्डु दधिकोट शिरुटार बालकोट क्षेत्रको जग्गा रहेका छन्। पूर्वमा अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडि हुँदै सूर्यविनायक वनलाई बाहिर पार्दै फेदको बाटो, पश्चिममा खहरे खोला, बालकोट बिरुवा सडक पानी ट्याङकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्ग सिमाना, उत्तरमा अरनिको राजमार्गको सिमाना, दक्षिणमा भक्तपुर जिल्लाको सिलागमगाल, रानीकोटा, जङगल देउ अन्र्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार बिरुवा हुँदै खहरेसम्मको क्षेत्रमा नयाँ नगर निर्माण हुने भएको छ। शहरी विकास मन्त्रालयका प्रवक्त सिंहका अनुसार योजना अनुमति लिइ प्लानिङ गरिएका क्षेत्रबाहेकका जग्गामा नयाँ नगर निर्माण गरिनेछ।

उपत्यकाको दक्षिण–पश्चिम ललितपुरको साबिकको क्षेत्रमा खोकना, बुंगमती, गाविसका जग्गाहरू रहेका छन्। पूर्वमा छ्यासीकोटदेखि साविक सैंबु गाविसको सिमाना हुँदै फर्सिडोल, बागमती नदीको झोलुगे पुलसम्म, पश्चिममा बागमती नदी सीमाना, उत्तरमा साबिक सैंबु गाविसको सिमाना र दक्षिणमा बागमती नदी क्षेत्रको भित्रको जग्गामा नयाँ नगर निर्माण हुने भएको छ। यस क्षेत्रमा पनि १ हजार रोपनी जग्गामा नयाँ नगर निर्माण गरिने भएको छ।

काठमाडौंको उत्तर क्षेत्रमा हरित शहर विस्तार गर्ने योजना अगाडि सारिएको छ। काठमाडौंको तारकेश्वर एवं टोखा नगरपालिकाअन्तगर्त सिमाना हुने गरी हरित शहर निर्माण गर्ने शहरी विकास मन्त्रालयले बताएको छ।

पूर्वमा सामाखुसी टोखा रोड हुँदै टोखा बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मूल सडक, उत्तरमा सपनातीर्थ मालुगं हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रिनल्याण्ड चोकेदखि मनारथ हुँदै महादेव खोला काभ्रेस्थलीको मूल सडकको पुलसम्म नयाँ नगर बन्ने भएको छ।