राइजिङ क्रिकेटले जित्यो उपाधि


नेपाल समाचारपत्र
काठमाडौं
कैलालीको अत्तरीयामा भएको रुस्लान अत्तरीया कपको उपाधि काठमाडौंको राइजिङ क्रिकेट वुमनले जितेको छ।

विभागीय टोली एपीएफको महिला क्रिकेट टिमलाई १६ रनले हराएर राइजिङ क्रिकेट क्लबले उपाधि हात पारेको हो। विजेता टोलीले ट्रफीसँगै नगद २ लाख र उपविजेताले १ लाख रुपियाँ प्राप्त गरेको थियो।

राइजिङले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याउन आएको एपीएफले १ सय ३६ रन मात्रै बनाउन सकेको थियो।

अत्तरीयास्थित एपीएफको खेल मैदानमा मंगलबार भएको फाइनल खेलमा राइजिङले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो। जसमा पूजा निमा भाटले सर्वाधिक ३७ रन जोडिन्।

उनले ३८ बलमा चार चौका प्रहार गरेकी थिइन्। त्यस्तै सहनवाज प्रवीण २५, शान्ता मुखर्जी २३, शान्ति खतिवडा २१, नेरी थापा र आरति विडारीले समान १३÷१३ रन बनाए।

बलिङमा एपीएफकी सरिता मगरले ४ ओभरमा २९ रन खर्चिंदै ३ विकेट लिइन्। त्यस्तै एपीएफकी करुणा भण्डारीले २ विकेट हासिल गरेकी थिइन्।

जवाफमा एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रनमा समेटिएको थियो। टोलीकी पूजा पाण्डेले ४२ बलको सामना गरेर ५ चौकासहित ४८ रन बनाएकी थिइन्। तर उनी आउट भएपछि करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाएपनि बाँकी खेलाडीले दोहोरो अंक छुन नसक्दा उपाधिबाट विमुख भएको थियो।

एपीएफलाई हराउन प्रमुख भूमिका खेलेकी पूजा निमा भाटले राइजिङका तर्फबाट चार विकेट हासिल गरेकी थिइन्। उनले चार ओभरमा १७ रन खर्चिन्। कुल १ सय ७ रन र ११ विकेट लिएकी पूजाले उत्कृष्ट खेलाडी घोषित हुँदै २५ हजार नगद प्राप्त गरेकी थिइन्।

यसै गरी एपीएफकी ज्योति पाण्डे र सरिता मगर क्रमशः उत्कृष्ट ब्याटसवुमन र बलर घोषित हुँदै समान १० हजार नगद प्राप्त गरे।