चुनावमा बाचैबाचा



जनता भन्छन्– ‘साना कुरा त गर्दै गर्दैनन्’

ईश्वरराज ढकाल, काठमाडौं
घरघरमा भोट माग्दै हिँडेका उम्मेदवारले बाटो बनाइदिन्छु, सडक निर्माण गरिदिन्छु र भूकम्पले भत्किएका मठमन्दिर र संरचना बनाइदिन्छु भन्नु स्वाभाविक हो।

तर काठमाडौं र ललितपुर दुई महानगरसहित उपत्यकाका अधिकांश नगरका उम्मेदवारले केबलकार निर्माण गर्ने, मेट्रो शहर बनाउने र भ्यु टावर निर्माण गर्ने सपना बाँड्दै हिँडेका छन्। उम्मेदवारले जारी गरेको योजनामा केबलकार बनाउने योजना त सामान्य भइसकेको छ। तर केबलकारको सपना बाँडेको सुन्दा मतदाता नै अचम्म मान्न थालेका छन्।

हुन त यसरी बाँडेका सपना पूरा हुनै सक्दैन भन्ने होइन। तर हचुवाको भरमा मत तान्न बाँड्दै हिँडेको सपना कसरी साकार हुन्छ हेर्न बाँकी छ। ‘गर्दा सम्भव नहुने होइन’, ललितपुर महालक्ष्मी नगरपालिकाका मतदाता नारायण बजगाईंले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तर पाँच वर्षमा पूरा हुन्छ कि हुँदैन हेर्न बाँकी नै छ।’

उहाँले मत तान्नभन्दा पनि जितेपछि आफूले बाँडेको सपनामा चुक्न नहुने धारणा राख्नुभयो। ललितपुर महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार शिव कट्टेलले लाँकुरी भञ्ज्याङमा भ्यु टावुर निर्माण गर्ने, गोदावरी नगरपालिकाका अध्यक्षका उम्मेदवारहरूले गोदावरीदेखि फुलचोकीसम्म केबलकार निर्माण गर्ने योजना सार्वजनिक गर्दै भोट माग्न व्यस्त हुन थालेका छन्।

निर्वाचन प्रचार प्रसार गर्न दुई दिन बाँकी हुँदा घरदैलो अभियानमा व्यस्त भएका अधिकांश उम्मेदवारले एक घर एक धारा, फोहोर व्यवस्थापन, हरियाली र पार्कको अभियानलाई अघि बढाउने त जनाएका छन्। ‘काम गरे त राम्रो हुन्थ्यो उनीहरूले सुनाएको योजनाअनुसार काम गरे त मुलुक नै विकास हुने थियो’, ललितपुर महानगरपालिका १६ का मतदाता बद्री जोशीले भन्नुभयो– ‘भोट माग्न आएका उम्मेदवारले जितेपछि घरमा शुभकामना साट्न आए नै ठूलो कुरा हुने थियो।’
काठमाडौं महानगरपालिकाका अधिकांश उम्मेदवारले रिङरोडमा ट्रम गुडाउने, बौद्धदेखि कलंकीसम्म सिटिकार सञ्चालन गर्ने र काठमाडौंलाई लोडसेडिङ मुक्त गर्ने योजना पनि बाँड्दै हिँडेका छन्। अधिकांशले भूकम्पले ध्वस्त भएका सम्पदा र भौतिक संरचना तत्काल पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

‘सामान्य भए पूरा हुने थियो केबलकार र ट्राम सञ्चालन गर्ने कुरा सम्भव देखिँदैन।’ –कामपा १०का मतदाता रिता घिमिरेले भन्नुभयो। ‘राजधानीलाई हरियाली शहर बनाए पुग्थ्यो, धुलो र धुवाँमुक्त बनाउँदा पनि हामी त खुसी हुन्थ्यौं।’ –उपत्यकाका अधिकांश मतदाताको चाहना यस्तै रहेको छ।