दक्षिण एसियाली योगामा नेपाल दोस्रो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
प्रथम दक्षिण एसियाली योगा च्याम्पियनसिपमा नेपाल सोमबार दोस्रो भएको छ। नेपाल कुल २६ अंकसहित उपविजेता बनेको हो। पहिलो भएको भारतले ५९ अंक बटुल्यो भने तेस्रो स्थानमा चित्त बुझाएको बंगलादेशले ५ अंक प्राप्त गर्यो।

नेपाल योग खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको ८–१२ वर्ष उमेर समूहअन्तर्गत महिला टिममा भारत पहिलो र नेपाल दोस्रो भयो। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताअन्तर्गत १४–१८ वर्षको पुरुष व्यक्तिगतमा भारतका अयान दास पहिलो, नेपालका रोशन खनाल दोस्रो र नेपालका धनप्रसाद तेस्रो भए। १४–१८ वर्षको पुरुष टिममा भारतले पहिलो र दोस्रो स्थान प्राप्त गर्यो भने नेपालले तेस्रो स्थानमा चित्त बुझायो। १४–१८ वर्षको महिला व्यक्तिगत स्पर्धामा भारतका खेलाडीले शीर्ष तीन स्थानको उपाधि हात पारे। अनुप्रभा दास पहिलो, प्रिया जन दोस्रो तथा तान्या चोधन र आचल शर्मा तेस्रो भए। १४–१८ वर्षको महिला टिममा भारतले स्वर्ण तथा नेपालले रजत हात पारे।

१८ वर्षमाथि पुरुष व्यक्तिगतमा इन्द्रजित रोय पहिलो, रविन्द्र माली र आयुश वर्मा तेस्रो भए। सबै खेलाडी भारतका हुन्। १८ वर्षमाथि पुरुष टिममा भारत पहिलो र नेपाल दोस्रो भयो। १८ वर्षमाथि महिला व्यक्तिगत इभेन्टमा भारतकी सोनिया कमिला पहिलो, भारतकी निशा भास्वानी दोस्रो तथा बंगलादेशकी फर्दुसी अक्तर औपी र भारतकी सपना अदित तेस्रो भए। १८ वर्षमाथि महिला टिममा भारत पहिलो र नेपाल दोस्रो भए। दुई प्रतियोगितामा नेपालबाट ७६, भारतबाट ७० र बंगलादेशबाट १७ प्रतिस्पर्धीले विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए।