चापेकोइन्सेले जित्यो उपाधि

0
Shares

लन्डन, (एजेन्सी)
चापेकोइन्सेको अघिल्ला टिमका खेलाडी र पदाधिकारी विमान दुर्घटनामा परी निधन भएयता टोलीले पहिलो उपाधि जितेको छ। गत नोभेम्बरमा भएको विमान दुर्घटनाबाट सो ब्राजिली क्लबका तीन खेलाडी बाँच्न सफल भए। उक्त विमानमा ७७ जना यात्रु थिए।

यो घटनापछि ब्राजिल र अर्जेन्टिनाका शीर्ष क्लबहरूले चापेकोइन्सेलाई खेलाडीहरू लोनमा दिन प्रस्ताव गरेका थिए। टोलीले यस सिजनमा २५ नयाँ खेलाडीलाई अनुबन्धित गरेको थियो। यही टिमले आइतबार सान्टा केटेरिना स्टेट च्याम्पियनसिपको उपाधि जितेको थियो। यो टिमको लगातार दोस्रो उपाधिसमेत थियो।

फाइनलको प्लेअफमा चापेकोइन्से अभाइसँग १–० गोल अन्तरले हारेको थियो। यसको बाबजुद टिमलाई च्याम्पियन घोषित गरिएको थियो। पहिलो लेगमा उनीहरूले १–० को जित दर्ता गरेको थियो। टिमको राम्रो रेकर्डका कारण पनि उपाधि जितिएको थियो।

गत नोभेम्बर २९ मा कोलम्बियाको एटलेटिको नासेनलसँग कोपा सुडामेरिकानाको फाइनल खेल खेल्न चापेकोइन्सेको टिम त्यतैतिर गएको थियो। तर फाइनल खेलस्थल पुग्नअगाव नै विमान दुर्घटना भएको थियो, जसमा १९ जना खेलाडीको ज्यान गएको थियो।