असफल प्रेमकथाको भिडियो

0
Shares

एक युवक जो बोल्न सक्दैन, तर पनि ऊ आफूलाई भाग्यमानी ठान्दछ। आफूले काम गरिरहेको ठाउँमा एक विदेशी युवतीसँग उसको भेट हुन्छ र पहिलो भेटमै विदेशी युवतीले मायाको दृष्टिले हेर्न थाल्छिन्।

यसरी उनीहरूबीच सधैं भेट हुन थाल्छ। तर यो सबै दृश्य त्यस युवकसँगै काम गर्ने युवतीलाई खासै मन परेको हुँदैन। किनकि एक त युवक बोल्न सक्दैन, अर्को युवती त्यसमा पनि विदेशी। कतै त्यस विदेशी युवतीले युवकलाई धोका त दिन्न ? यस्तै सोच र आफूलाई पनि मन पर्ने भएकाले ती युवतीलाई यो सबै कुरा मन परेको हुँदैन। एक दिन ती विदेशी युवतीले केही साथीका साथ सँगै काम गर्ने युवक र युवतीलाई आफ्नो सरप्राइज बर्थडेमा बोलाउँछिन्। त्यही अवसर पारेर युवकले आफ्नो कोटको खल्तीबाट रिङ निकालेर उनीसामु बिहेको प्रस्ताव राख्छ। ‘म तिम्रो मात्र साथी हुँ।’ तिमीजस्तो बोल्न नसक्नेसँग म कसरी बिहे गर्न सक्छु ती युवतीले रिङ भुइँमा फालिदिन्छिन्। यो सबै अर्की युवतीले नियाली रहेकी हुन्छे। उसलाई आफूले पनि भित्रभित्र माया गरेको हुनाले साथ दिन थाल्छे।

सिंगो फिल्मजस्तो लाग्ने यो दृश्य हालै मात्र आरसी कोइरालाको परिकल्पनामा गीतकार क्षितिजले लेखेको गीतको म्युजिक भिडियोको हो। विकास घले गुरुङले निर्देशन गरेको म्युजिक भिडियोलाई बबिन दुलालले छायांकन गरेका छन्।

संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेको जीवनभरि फूल सरी सजाउँछु भन्नेले बोलको गीतमा गायक अर्जुन सुनामले स्वर दिएका छन्। मोडेल तथा कलाकार मिराज कोइरालाको मुख्य भूमिका रहेको भिडियोमा मोडेल तथा कलाकार शीतल आचार्यको साथमा बंगलादेशकी चर्चित मोडेल अन्नन्य चौधरीले अभिनय गरेकी छिन्।