काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले सङ्घीय संसद् आएपछि मात्र संविधान संशोधन हुने बताउनुभएको छ ।
एमाले प्रचार विभागले आज यहाँ अयोजना गरेको छलफलमा नेता खनालले संविधान कार्यान्वयन र निर्वाचनको अहिलेको चरणमा संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्ले महत्वपूर्ण सवालमा संविधान संशोधन गर्न नसक्ने भएकाले सङ्घीय संसद् आएपछि मात्र सो प्रस्ताव अघि बढ्ने बताउनुभयो ।
संविधानबमोजिम आगामी माघ मसान्तभित्र सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्नेछ, नेता खनालले भन्नुभयो, “ पहिला निर्वाचन हुनुपर्छ, त्यसपछि मात्र अन्य समस्यामा छलफल गर्न सकिन्छ ।”
उहाँले सरकारले दोस्रो चरणको निर्वाचनलाई सहज बनाउन संविधान संशोधन विधेयक संसद्मा प्रस्तुत गरेको उल्लेख गर्दै निर्वाचनमा आफ्नो पार्टीले जित हासिल गरेपछि मात्र मुलुकले सही बाटो लिने दाबी गर्नुभयो ।
आसन्न स्थानीय निर्वाचनमा एमाले सबैको आकर्षणको केन्द्रमा रहेकाले आफ््ना कार्यकर्तालाई कतिपय स्थानमा आक्रमणको प्रयास भएकाले सरकारले शान्ति सुरक्षा दिनुपर्ने माग गर्दै नेता खनालले निर्वाचन आचारसंहिताविरुद्ध हुने गतिविधिबारे सरकार र निर्वाचन आयोगलाई निरन्तर ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।
पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थानीय निर्वाचनमा एमालेको सिङ्गो पङ्क्ति एकताबद्ध भएर लागेको बताउनुभयो । रासस
प्रतिक्रिया