चोक–चोकमा ‘म्यादी’


नेपाल समाचारपत्र, बाँके । नेपालगञ्जको चोक–चोकमा म्यादी प्रहरीलाई खटाइएको छ । हातमा लठ्ठी समातेका म्यादी प्रहरीहरु नेपालगञ्जसँगै जिल्लाका अन्यत्र चोकमा पनि खटिएका छन् । पोशाक आइनसकेकाले म्यादी प्रहरीहरु सर्ट–पाइन्ट, टीसर्ट र ट्रयाक लगाएर डिउटीमा बसेका छन् । बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले आएको जति पोशाक लगाएर म्यादीलाई बाहिर निकालिएको बताउनुभयो ।

१४७ लाई पहाड पठाइयो

बाँकेमा एक हजार एक सय २३ जना म्यादी प्रहरी छन् । तीमध्ये एक सय ४७ जनालाई पहाडी जिल्ला पठाइएको छ । एसपी राईका अनुसार, एक सय ३६ जना डोल्पा र ११ जनालाई सुर्खेत पठाइएको छ ।
चुनावी मिति सरेसँगै म्यादीलाई सामाजिक कार्यमा लगाइएको छ । विशेष गरेर, नेपालगञ्जको सरसफाईमा म्यादीलाई लगाइएको छ । मन्दिर, प्रशासन कार्यालयलगायत ठाउँमा म्यादीलाई लगाएर सरसफाई गरिएको छ ।
सरकारले बैशाख ३१ गतेको चुनावलाई लक्षित गरेर ५५ दिनका लागि म्यादी प्रहरी भर्ना गरेको थियो । चार वटा प्रदेशमा जेठ ३१ गते चुनाव हुने गरी सारिएपछि अब म्यादीले ९० दिन काम गर्ने बुझिएको छ ।

सरसफाईमा म्यादी
‘३० वर्षे प्रहरी र ५५ दिने प्रहरी मिलेर चोकमा डिउटी गरेका छन्, बाँकेका एसपी राईले भन्नुभयो, सामाजिक कार्य पनि गरिरहेका छौं ।’ नेपालगञ्जलाई सफा बनाउने शनिबारीय अभियानमा म्यादी जुटेका छन् ।
चुनावको रस्साकस्सीमा पुगिसकेका बेला सरकारले जेठ ३१ गतेका लागि दोस्रो चरणको मिति सारेपछि बाँकेमा चुनावी सरगर्मी सेलाएको छ । चुनाव सरेपछि उम्मेदवारहरु खर्च बढेको बताउन थालेका छन् । चुनाव सार्दा म्यादीकै भरणपोषणमा पनि सरकारी खर्च बढेको छ ।