राम्रो आदेश



शुक्रबार प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाअभियोग स्थगनको आदेश दिएर सर्वोच्च अदालतले राम्रो काम गरेको छ। एकजना प्रधानन्यायाधीशलाई युक्तिसंगत कारण नै नभई त्यसरी महाअभियोग लगाउने चलन बसेको भए आगामी दिनमा स्वच्छ न्याय पाउने जनताको अपेक्षा पूरा हुन सक्ने थिएन। त्यसैले जे भयो राम्रो भयो। आगामी दिनमा यस्तो झगडा नहोस्।
— सुशील रायमाझी, कालीमाटी, काठमाडौं

संसद्लाई निरीह पार्नुहुँदैन
सर्वोच्च अदालतले गत शुक्रबार महाअभियोगका बारेमा गरेको आदेशले संसद्को क्षेत्राधिकार खोसेको जस्तो देखिएको छ। सुशीला कार्कीले नराम्रो काम नगर्नुभएको होला, त्यसलाई मानौंला। तर, आगामी दिनमा सर्वोच्च अदालतमा रहेका न्यायाधीशले साँच्चै खराब काम गरे भने पनि संसद्ले महाअभियोग लगाउन नसक्ने जस्तो अवस्था सिर्जना गर्न खोजिएको छ।

किनकि खराब काम गर्नेलाई महाअभियोग लगाउँदा पनि कसैले रिट हाल्यो र अर्को कुनै न्यायाधीशले महाअभियोग स्थगन गर्न आदेश दियो भने त्यो अवस्थामा के गर्ने ? त्यसैले यो क्षेत्राधिकारको कुरालाई तत्काल टुंगो लगाउनुपर्दछ। जनप्रतिनिधिहरूको मुख्य थलो संसद्लाई निरीह पार्नुहुँदैन।
— रामेश्वर कार्की, कलंकी, काठमाडौं

महानगरपालिका बनाउने तयारीको स्वागत

प्रधानमन्त्री पुष्पकमल दाहालले औद्योगिक क्षेत्र विराटनगर र वीरगन्जलाई चुनावअघि नै महानगरपालिका बनाउने सरकारको तयारी रहेको विषयमा बोलेको खबरले हामीलाई हर्षित बनाएको छ। महानगरपालिका बनाउनुपर्ने माग राखेर भेट्न जानुभएका कांग्रेस, एमाले र माओवादी केन्द्रका सांसदहरूको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री दाहालले सरकारको तयारीबारे जानकारी गराएको विषयले विराटनगर र वीरगन्जवासी महानगरवासी हुनेमा आशा जगाएको छ। सिमाना हेरफेर नगरी सरकारले दुई उपमहानगरपालिकालाई महानगर बनाउने तयारी गरेको कुराले झनै विनाविवादका बीच महानगरपालिका बनेमा हमीमा विवाद र विद्र्रोह हुने थिएन।

दह्रो माग लिएर जानुभएका महेश आचार्य, भरतमोहन अधिकारी, मिनेन्द्र रिजाल, दिलीप गच्छदार, डिकबहादुर लिम्बु, शिवकुमार मण्डल, अमृत अर्याल, फरमुल्ला मन्सुर र आनन्द ढुंगानालगायतलाई हामी सबैको तर्फबाट धन्यवाद पनि दिन चाहन्छु। स्थानीय तह पुनर्संरचना आयोगको सिफारिसमा काठमाडौं, ललितपुर, चितवन र पोखरा–लेखनाथलाई मात्रै महानगर घोषणा गरेकोमा अब विराटनगर र वीरगन्ज पनि महानगरपालिका भएमा राह्रै राम्रो हुने थियो।
– सीता राई, विराटनगर

पासाङल्हामु मार्ग छिटो बनाऊ

तातोपानी नाका बन्द भएपछि उत्तरी छमेकी चीनलाई जोड्ने एउटै अन्तर्राष्ट्रिय नाका पासाङल्हामु मार्गको स्याफ्रुबेंसी–रसुवागढी जीर्ण हुँदा पनि सम्बिन्धित पक्षले चासो दिएको छैन। सुधार, पुनर्निर्माण तथा स्तरोन्नतिमा सम्बन्धित निकायले ध्यान नदिँदा दैनिकरूपमा सयौं सवारी र हजारौं यात्रुले साह्रै दुःख पाएका छन्। पासाङल्हामु मागको सडकको स्याउबारी, राम्चे, ग्राङ र मूलखर्क, खोपाङको भीर, सानु भार्कु र स्याफ्रुबेसी–रसुवागढी सडकखण्डको फ्याङलुङ खोला, लिङलिङ, टिमुरेलगायत धेरै ठाउँमा पहिरो पहिरो गएर बाटो बिग्रँदासमेत सम्बन्धित निकाय मौन छ।

२०४२ सालमा निर्माण भएको साँघुरो सडकले अन्य गाडीलाई साइड दिन पनि धौ–धौ हुन्छ। भनौं सिंगल लेनमा दोहोरो गाडी हिँड्दैनन्। एसियाली विकास बैंकको सहयोगमा गरिएको कालोपत्रे भत्किएको उक्त सडकमा यात्राका लागि कठिनाइ मात्रै हैन दिनहुँ गाडी दुर्घटनामा परेर धेरैको ज्यान अकालमै जाने गरेको छ। सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पपछि बन्द भएसँगै रसुवागढी नाका पूर्णरूपमा सञ्चालनमा आएको हो। रसुवागढी नाका सञ्चालनमा आएपछि पासाङल्हामु मार्ग हुँदै अहिले दैनिक सयौं कन्टेनर ओहोर–दोहोर गरिरहेका छन्। ज्यानकै बाजी थापेर साँघुरो सिंगल लेन रहेको भीरको बाटोबाट गाडी चलाउनुपरिरेहेको अवस्था छ। सरकारले सडक स्तरोन्नति गर्ने घोषणा गरेको दुई वर्ष बितिसक्दा पनि अहिलेसम्म केही काम भएको छैन। सडक दिनदिनै झन्–झन् बिग्रँदै जान थालेको छ। त्यति मात्रै हैन, साँघुरो सडकको बीचबाटोमै पुगेर ट्रक तथा कन्टेनरहरू बिग्रिँदा साइड दिने ठाउँ नभएर घन्टौं जाम हुने गरेकोमा समेत सरकार मौन छ।
– सरोज चलाउने, रसुवा

किन सधैँ बेचिन्छन् नेपाली ?

तेस्रो मुलुकबाट अवैध तरिकाले घरेलु कामदारका रूपमा पठाइएका नेपाली महिलाहरू अर्को मुलुकमा समाइएका छन्। दिल्लीबाट उडाइएका ८२ जना नेपाली महिलामध्ये ४४ जना दुबईबाट अर्को देश जान नपाएको खबर पनि आइरहेको छ। घरेलु काममा जाने नेपालीको लागि दिल्ली विमानस्थलमा कडा चेकजाँच गर्न थालिएपछि नेपाली भटाभट समाइएका छन्। तस्करहरूले ट्राभल एजेन्सीसँग मिलेर दिल्ली–दुबई–केन्यासम्मको टिकट बनाएको पनि खुलेको कुरा मिडियामा आइरहेको छ। नेपालीले केन्याको अनअराइभल भिसा पाउने हुँदा तस्करले केन्यासम्मको रुट देखाएर सबै महिलाहरू कुवेतका लागि दिल्लीबाट पठाउन सफल भएको पनि बाहिर आइरहेको छ।

यति कुरा आइरहँदा पनि प्रशासनले केही गरेको छैन। फेरि दिल्ली अधिकारीहरूले प्रहरी महिलाबाट पूरै खानतलासी गर्न थालेपछि तस्करहरूले महिलालाई दिल्ली–दुबई–केन्यासम्मको टिकट मात्रै दिएर पठाइरहेको कुरा आयो। दुबई नपुग्दै तस्करहरूले केन्याको टिकट रद्ध गरी महिलाहरूलाई कुवेत जाने भिसा र टिकटको प्रतीक्षामा बसाल्ने गरेका रहेछन्। दुबईको अध्यागमन अधिकारीहरूले छानबिन गर्दा टिकट नभेटेपछि उनीहरू फेरि भारत हुँदै फर्केको खबर पनि आयो। यस्ता किसिमले तस्करले चलाखी गरिरहँदा यसलाई नियन्त्रण गर्न र तस्करलाई हदैसम्मको कार्वाही गर्नेतर्फ सम्बन्धित निकायले केही सोच्ने कि ?
– सीताराम खड्का, बाग्लुङ

जडीबुटीको सदुपयोग गरौं
आर्थिक आम्दानीको वैकल्पिक स्रोतको रूपमा रहेको बहुमूल्य जडीबुटी सदुपयोग गरेर मनग्य आम्दानीको स्रोत बनाउन सकिन्छ। स्थानीय बासिन्दाहरूमा जडीबुटीसम्बन्धी चेतनाको कमी, संकलन र प्रशोधनको ज्ञान नहुँदा र साधन–स्रोतको अभावमा नेपालका जडीबुटीहरू त्यसै खेर गइरहेका छन्। सम्बन्धित निकायले स्थानीयलाई जडीबुटी संकलन, प्रशोधन र संरक्षणसम्बन्धी ज्ञान दिएर र आवश्यक प्रविधि दिएर जडीबुटीको उचित सदुपयोग हुन सक्छ।

महाभारत तथा चुरे जंगलमा प्रशस्त पाइने जडीबुटीहरू विशेष गरी वनमा वस्तुभाउ चराउन जाने घाँसी तथा गोठालाले जथाभावी विनाश गर्नाले बीउ नै मासिन गई दुर्लभ बन्दै जाने अवस्थासमेत छ। यस विषयमा पनि विशेष चासो दिनु जरुरी छ। केही स्थानीयले आफ्नै पारामा संकलन गर्ने र बेच्ने गर्दा उचित मूल्य नपाउने तथा प्राविधिक ज्ञानको अभावले राम्रोसँग संकलन पनि नहुने अवस्था छ। व्यवस्थित संकलन नभएका कारण पनि उनीहरूले उचित मूल्य पाएका छैनन्। यो विषयमा सरकारको सम्बन्धित निकायले चासो देओस् ?
– मोहनसिंह बाँठा, मुगु

प्रतिक्रिया दिनुहोस्