खडकलाई जर्मनीमा अवार्ड

0
Shares

काठमाडौं, (नेस)
खडकबहादुर गुरुङ ‘मदन’ जर्मनीको म्युनिखमा ‘इन्सटक्टर अफ द इयर २०१७ अवार्ड’बाट सम्मानित भएका छन्। गुरुङलाई नेपालको विभिन्न भूभागमा मार्सल आर्ट खेल विकासका महत्त्वपूर्ण योगदान पुर्याएबापत म्युनिख हल अफ अनर जर्मनीले सम्मान गरेको पदम रानाले बताए। राष्ट्रिय तेक्वान्दो संघ नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष अन्तर्राष्ट्रिय प्रशिक्षक मास्टर गुरुङले पर्वत जिल्लामा सन् २०१० देखि प्रशिक्षण दिँदै आएका छन्।

राष्ट्रिय प्रतियोगितामा प्रायः निर्णायकको भूमिकामा देखिने तेक्वान्दोका अन्तर्राष्ट्रिय प्रशिक्षकसमेत रहेका गुरुङले यो सम्मानपछि आफूलाई थप तेक्वान्दो खेल विकासमा लाग्न प्रेरित गरेको बताए। सम्मानपश्चात् कुस्मामा रहेको आफ्नो विद्यालय परिवार, राष्ट्रिय तेक्वान्दो संघ र मार्सल आर्टकर्मीप्रति धन्यवाद व्यक्त गरे। उक्त विशेष समारोहमा गुरुङलगायत दर्जनौं ग्रान्डमास्टर, मार्सल आर्टसका संस्थापकलगायत अन्तर्राष्ट्रिय मेडलिस्ट खेलाडी पनि सम्मानित भए।

गुरुङलाई यो सम्मानका लागि म्युनिख हल अफ अनर जर्मनीका अन्तर्राष्ट्रिय बोर्ड अफ डाइरेक्टर्सका ग्रान्डमास्टर सिन्थिया रोथरक, ग्रान्डमास्टर अरहार्ड केलनर, ग्रान्डमास्टर सामुएल कोक, मास्टर ग्रेगोर जे हसलगायतका ग्रान्डमास्टर र मास्टर्सको बोर्डले विश्वभरिका दर्जनौं मास्टर्सबाट छनोट गरेका हुन्।