रसुवागढी सुख्खा बन्दरगाहको क्षमता विस्तार गरिँदै


नेपाल समाचारपत्र
काठमाडौं
रसुवागढी सुख्खा बन्दरगाहको क्षमता विस्तारका लागि नेपालले चीन सरकारसंँग आग्रह गरेको छ। साढे ५ हेक्टर क्षेत्रफलमा निर्माण गर्ने भनी सम्झौता गरिएको बन्दरगाहमा थप ३ हेक्टर क्षेत्रफल विस्तारका लागि आग्रह गरेकोे नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले जानकारी दिनुभयो।
कार्यकारी निर्देशक बस्नेतले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो–‘हामीले रसुवागढी बन्दरगाह साढे ८ हेक्टरमा निर्माण गरिदिन अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत् चीनसंँग अनुरोध गरेका छौं। अब उताको केन्द्रीय सरकारको निर्णय के आउँछ सोहीअनुसार काम अघि बढ्छ।’ चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्न लागेको सुख्खा बन्दरगाहका लागि चिनियाँपक्षले साढे ५ हेक्टर जमिनमा निर्माण गर्ने गरी डिजाइनलगायत प्रारम्भिक चरणका कामहरू गरिसकेको थियो। तर, हामीले थप ३ हेक्टर जमिन थप्नुपर्ने माग राखेपछि चिनियाँपक्षले पनि सकारात्मक प्रतिक्रिया दिएको छ। बन्दरगाह निर्माणका लागि ९५ प्रतिशत अधिग्रहणको काम सकिएको छ भने मुआब्जामार्फत् ४८ करोड ५० लाख रुपियाँवितरण गरिसकिएको कार्यकारी निर्देशक बस्नेतले बताउनुभयो। बस्नेतका अनुुसार आगामी तीन वर्षभित्र बन्दरगाह निर्माण गरिसक्ने लक्ष्य अनुरुप सरकारले सडक निर्माण र बिस्तारको कामलाई दु्रतगतिमा अगाडि बढाउनु अपरिहार्य छ।

त्यस्तै हाल तातोपानी सुख्खा बन्दरगाह निर्माणको प्रारम्भिक सर्वेक्षणका लागि १५ जनाको विज्ञ टोलीले सम्भाव्यता अध्ययनमा खटाइएको छ। गत सोमबार अर्थ मन्त्रालय र चिनियाँसरकारका प्रतिनिधीबीच रेस्क्यु, प्रोटेक्सन, र कन्स्ट्रसन गरी तीन चरणमा कार्यसम्पादन गर्ने भनि सम्झौता गरिएको छ। रेस्क्युको काम मनसुन अगाडि सकाउने लक्ष्यका साथ मंगलबा देखि नै काम थालिएको बस्नेतले बताउनुभयो।
डिजाइन इस्टिमेट अनुसार रेस्क्युका लागि १५ करोड लागत छुट्याइएको उहाँले बताउनुभयो। तातोपानी र रसुवागढी सुख्खा बन्दरगाह सञ्चालनमा आइसकेपछि चिनियाँकन्टेनरहरूले नै सामान ल्याउनेछ।
दुई देशबीचको व्यापार एवम् सामान आयात निर्यातलाई व्यवस्थित र अझ व्यापक बनाउन चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा उक्त बन्दरगाहको निर्माण गर्न लागिएको हो।