अनुपमा स्कुल प्रिन्सेस नेपाल


स्कुल प्रिन्सेस नेपाल २०१७ को ताज अनुपमा श्रेष्ठले चुमेकी छिन्। ३५ स्पर्धीलाई पछि पार्दै अनुपमाले उपाधि चुमेकी हुन्। सिद्धार्थ बनस्थली स्कुलमा कक्षा १० मा अध्ययनरत अनुपमाले उपाधिसँगै नगद २५ हजार, एक वर्षका लागि पूर्ण छात्रवृत्ति र मोबाइल सेट जित्नुका साथै टर्कीमा हुने इन्टरनेसनल चाइल्ड आइकनमा स्पर्धा गर्ने अवसर प्राप्त गरेकी छिन्।

आरके इन्टरटेनमेन्ट प्रालिद्वारा बुधबार साँझ आयोजित चौथो संस्करणको यस प्रतियोगितामा एलआरई स्कुलमा अध्ययनरत गरिमा श्रेष्ठ फस्ट र यूरिका स्कुलमा अध्ययनरत वर्षा बस्नेत सेकेन्ड रनर्सअप भए। उनीहरुले क्रमशः १५ र १० हजार रुपियाँका साथै विभिन्न गिप्ट याम्पर पाएका छन्।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजित प्रतियोगितामा पब्लिक च्वाइसको टाइटल अवार्डसहित नगद ५ हजार भने रश्ना अधिकारीले प्राप्त गरिन्। भोटिङका आधारमा पब्लिक च्वाइस अवार्ड प्रदान गर्ने गरिएको आयोजक संस्थाका अध्यक्ष राम केसीले जानकारी गराए।

पहिलो शिक्षामूलक प्रतियोगिता दाबी गरिएको स्कुल प्रिन्सेस नेपालमा विभिन्न उप–उपाधि पनि प्रदान गरिएको थियो। जसमा बस्ट हेयर, बेस्ट स्माइल, बेस्ट क्याटवाक, बेस्ट ट्यालेन्ट, बेस्ट लुक, बेस्ट फ्रेन्डसिप पर्सनालिटी, फोटोजेनिकजस्ता अवार्ड अन्य प्रतियोगीले प्राप्त गरेका थिए।

गीतकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताको निर्णायकमा कोरियोग्राफर तथा मोडल विपना थापा, गायक यम लामा, गीतकार संघका उपाध्यक्ष तथा सञ्चारकर्मी भरत बम्जन र हिमालयन कलेजका प्रिन्सिपल तथा हिसानका सचिव रामहरि सिलवाल रहेका थिए। प्रिन्सेस अप्रिल लामाको कोरियोग्राफीमा सम्पन्न कार्यक्रममा निशा आचार्यको कोरियोग्राफी रहेको थियो।