अवे गोलसँगै म्यानचेस्टर फाइनल निकट


लन्डन, (एजेन्सी)
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलको फाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ।

युरोपा लिगअन्तर्गत बिहीबार राति भएको सेमिफाइनलका पहिलो लेगमा पाहुना टोली म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब सेल्टा भिगोलाई १–० ले पराजित गरेको छ।

स्पेनमा भएको उक्त खेलमा म्यानचेस्टरलाई महत्वपूर्ण जित दिलाउन मार्कस रास्फोर्डले निर्णायक गोल गरेका थिए।
सेल्टाका गोलरक्षक बाधक बनेको उक्त खेलको ६७औं मिनेटमा मार्कस रास्फोर्डको फ्रिकिक प्रहार गोलमा परिणत भएपछि युनाइटेडको जित सम्भव भयो।

उक्त जितसँगै युनाइटेडले युरोपा लिगको फाइनल पुग्ने सम्भावनालाई पनि बढाएको छ। चोटका कारण विश्राममा रहेका स्टार फरवार्ड ज्लाटान इब्राहिमोभिचको अनुपस्थितिले भने युनाइटेडको अग्रपंक्तिले ठूलो घाटा सहेको छ।

दोस्रो लेगको खेल अर्को साता युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुनेछ।

युरोपियन क्लब फुटबलको दोस्रो प्रतिष्ठित प्रतियोगिता युरोपा लिगको अर्को सेमिफाइनलमा नेदरल्यान्ड्सको आयाक्स एम्स्टरडम र फ्रान्सको लियोन भिड्दै छन्।

पहिलो लेगमा आयाक्सले ४–१ को अग्रता लिएको छ।