रोनाल्डोको ह्याट्रिकसँगै रियल फाइनलनजिक

0
Shares

लन्डन, (एजेन्सी)
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै रियल मेड्रिड च्याम्पियन्स लिगको फाइनल नजिक पुगेको छ।

मंगलबार राति भएको च्याम्पियन्स लिगको पहिलो लेगअन्तर्गत मेड्रिड डर्बी भिडन्तमा रियलले एट्लेटिको मेड्रिडलाई ३–० ले पराजित गरेको हो। जितपछि रियलले फाइनल यात्रालाई सहज बनाउँदा एट्लेटिकोलाई आगामी साता घरेलु मैदानमा हुने दोस्रो लेगको खेलमा ४–० जित अनिवार्य भएको छ। युरोपेली च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति रियलको घरेलु मैदान सान्टियागो बेर्नबाउमा भएको खेलमा एट्लेटिको शुरुआतदेखि दबाबमा रहेको थियो। खेलको १०औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले हेडमार्फत गोल गर्दै घरेलु टोलीलाई शुरुआती अग्रता दिलाएका थिए।

  • ५२–रोनाल्डो ह्याट्रिकपछि च्याम्पियन्स लिग नकआउट चरणमा ५० गोल गर्नेे पहिलो खेलाडी बनेको।
  • १३–च्याम्पियन्स लिग सेमिफाइनलमा १३ गोल गरेका रोनाल्डोले रियलका लागि १० र म्यानचेस्टर युनाइटेडका लागि ३ गोल गरेका थिए।
  • १०३–रोनाल्डोले च्याम्पियन्स लिगमा एटलेटिको मेड्रिडको १ सयभन्दा बढी गोल गरेको।
  • ७–रोनाल्डोले बार्सिलोनाका फरवार्ड लियोनल मेसीको च्याम्पियन्स लिग ह्याट्रिक बराबरी गरेको।
  • ८–च्याम्पियन्स लिगमा दुई ह्याट्रिक लगातार गरेका रोनाल्डोले अघिल्ला तीन खेलमा ८ गोल गरेको।
  • ३९९–३२ वर्षीय पोर्चुगिज रियल मेड्रिडका लागि ४ सय गोल गर्न एक गोल कम रहेको छ।

पहिलो हाफ १–० ले पछि परेको एट्लेटिकोले खेलमा फर्किने मौका पाए पनि सदुपयोग गर्न सकेनन्। वान भर्सेस वानको स्थितिमा गमेरियोको प्रयासलाई रियलका गोलरक्षक नाभासले राम्रो बचाउ गरेपछि रियलको अग्रता कायमै रह्यो। यस्तै बेन्जेमाको पासमा खेलको ७३औं मिनेटमा दोस्रो गोल गर्दै रोनाल्डोले रियलको अग्रता दोब्बर पारे। यस्तै खेलको ८६औं मिनेटमा लुकास भाज्क्वेजको पास सदुपयोग गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए। स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको च्याम्पियन्स लिगमा यो लगातार दोस्रो ह्याट्रिकसमेत हो। यसअघि क्वार्टरफाइनलअन्तर्गत दोस्रो लेगमा पनि बायर्न म्युनिखविरुद्ध रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए।

योसँगै च्याम्पियन्सको लिगको सेमिफाइनलमा ह्याट्रिक गर्ने उनी चौथो खेलाडी बनेका छन्। उनले पछिल्ला ३ च्याम्पियन्स लिग खेलमा ८ गोल गरेका छन्। रोनाल्डोले च्याम्पियन्स लिगमा लिओनल मेसीले बनाएको सात ह्याट्रिकको रेकर्डसँग बराबरीसमेत गरेका छन्। उक्त ह्याट्रिक पछि उनी च्याम्पियन्स लिगको नकआउट चरणमा तीन ह्याट्रिक गर्ने पहिलो खेलाडीसमेत बने।