राष्ट्रिय प्रशिक्षक श्रेष्ठको प्रतिमा अनावरण

0
Shares

हेटौंडा, (नेस)
२०७२ सालको भूकम्पबाट काठमाडौंमा ज्यान गुमाएका तत्कालीन राष्ट्रिय भलिबलका हेटौंडेली प्रमुख प्रशिक्षक केशवलाल श्रेष्ठको प्रतिमा मंगलबार हेटौंडामा अनावरण गरिएको छ।

हेटौंडा–४ मा रहेको जिल्ला खेलकुद विकास समिति भवन परिसरमा श्रेष्ठको अर्धकद प्रतिमा अनावरण गरिएको हो। केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले निर्माण गरेको प्रतिमाको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडीले अनावरण गरेका हुन्।

प्रतिष्ठान अध्यक्ष प्रताप विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा श्रेष्ठकी पत्नी मञ्जुकुमारी श्रेष्ठसहित मकवानपुरमा क्रियाशील राजनीतिक दलका नेताहरू र विभिन्न संघसंगठनका पदाधिकारीको सहभागिता थियो।

२०१५ साल चैत १२ गते मकवानपुरको भैंसेमा जन्मिएका श्रेष्ठले २०३१ सालबाट नेपाली भलिबलको राष्ट्रिय टोलीबाट देशका लागि खेल्न शुरू गरेका थिए भने २०४३ सालबाट उनी प्रशिक्षकका रूपमा सक्रिय थिए। २०३४ सालदेखि राष्ट्रिय खेलाडीका रूपमा चर्चा कमाउन सफल श्रेष्ठले सन् १९८२ मा भारतमा भएको नवौं एसियन गेमबाट अन्तर्राष्ट्रिय खेल खेल्न थालेका थिए। प्रतिमा निर्माणका लागि गृह राज्यमन्त्री तथा सांसद इन्द्रबहादुर बानियाँँले एक लाख रुपियाँ, युवा व्यवसायी राजेश बानियाँले ५० हजार रुपियाँ र व्यवसायी धन थापाले २५ हजार रुपियाँ सहयोग गरेका थिए।

मकवानपुरबाट खेल प्रशिक्षकको इतिहासमा सबैभन्दा उच्च तहमा पुगेका व्यक्तिको मरणोपरान्त उनले खेलक्षेत्रमा गरेको योगदानको कदर गर्दै प्रतिमा निर्माण गरिएका विष्टले बताए। प्रतिष्ठानले मकवानपुरमा भलिबल विकासका लागि जिल्लास्तरीय र राष्ट्रियस्तरको प्रतियोगिता गर्ने कार्यतालिका बनाएको छ।

नेपाली खेलक्षेत्रमा उच्च पदमा कार्यरत रहँदै मकवानपुरका केशवलालले नेपाली भलिबल विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए। मकवानपुरका गौरव श्रेष्ठको भूकम्पबाट जोगिन भाग्ने क्रममा छतबाट लडेर निधन भएको थियो।
उनको निधनले मकवानपुरले एक कुशल अभिभावक र देशकै खेल क्षेत्रले लगनशील र सक्षम प्रशिक्षक गुमाएको थियो। प्रतिमा निर्माणमा ४ लाख ५० हजार लागत लागेको प्रतिष्ठानले जनाएको छ।