‘उप’ मात्रै ?

0
Shares

धरहरा वरपर एक हुल महिला तथा सज्जनवृन्द उपस्थित भएर गम्भीर कुरा हिजो उठाएको पाइयो। उहाँहरू भन्दै थिए– ‘महिलालाई के के न दिइयो चुनावको बेलामा भनेर दलहरूले डंका पिटिरहेका छन्।’ तर, अधिकांश ठाउँमा कि उपमेयर कि चाहिँ गाविस उपाध्यक्षमा मात्रै महिलालाई सिमित गरियो किन होला है ?

अरू केही भन्दै थिए– ‘महिलाले प्रमुख भएर चलाउन सक्दैनन् भन्ने कुराले ठूला दलका नेताहरूको मानसिकतामा घर गरिरहेका कारण नै यस्तो भएको हो। हामीले चाह्यौं भने देश नै चलाउन सक्छौं। यस्ता मेयर सेयरका कुरा त कुन ठूलो कुरा भयो र ?’

उनीहरूको कुरा धरहरालाई पनि मन पर्यो। एकपटक काम गर्ने अवसर नै नदिई कसरी प्रमाणित गर्न काम गर्न सक्छ वा सक्दैन भन्ने कुरा ? यो त कुनै रोजगारीको विज्ञापन गर्दा अनुभवीलाई प्राथमिकता दिइने छ भने जस्तै भयो नि होइन ? काम नै नथालीकन कसरी अनुभवी हुन्छ र ? सधैं अनुभवी मात्रैले रोजगारीको अवसर पाउने हो भने त नयाँ पुस्ता सधैं बेरोजगार नै हुने भए।

त्यस्तो अवस्थामा कसरी अघि बढ्ने ? धरहरालाई पनि महिला तथा सज्जनवृन्दको भनाइ मन पर्यो।अहिले मौका ‘उप’ भन्ने पदमा मात्रै दिइए पनि फेरि प्रदेश र केन्द्रीय संसद्को चुनाव पनि आउनेछ। त्यतिबेला दलहरूले के गर्दा रहेछन् त्यो हेरेर थप कमेन्ट गरुम्ला है पाठकवृन्द। कि कसो ?