दीपक र निकेशलाई पदक

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नेपाली किक बक्सिङ टोलीले तुर्केमिनीस्तानमा भएको वाको एसियन किक बक्सिङ च्याम्पियनसपिमा दुई पदक जितेका छन्। तुर्केमिनिस्तानको आस्कावादमा भएको च्याम्पियनसिपको पुरुष ७१ केजीमा नेपालका दिवस श्रेष्ठले रजत र ७४ केजीमा निकेश श्रेष्ठले कास्य पदक दिलाए।

गत अप्रिल २२ देखि ३० तारिखसम्म भएको खेलमा दिवसले क्वाटरफाइनलमा काजकिस्तान र सेमिफाइनलमा चाइनिज ताइपेईका खेलाडीलाई हराउँदै फाइनलको यात्रा तय गरेका थिए। तर फाइनलमा आयोजक तुर्केमिनिस्तानका खेलाडीसँग तीन राउन्डको खेलमा अंकको आधारमा पराजित भएपछि दिवसले रजत पदकमै चित्त बुझाए।

त्यस्तै ७४ केजीमा निकेशले क्वाटरफाइनलमा तुर्केमिनिस्तानका खेलाडीलाई हराउदै सेमिफाइनलको यात्रा तय गरे। यद्यपि ताजकिस्तानसँगको सेमिफाइनलमा तीन राउन्डसम्म खेल बराबरी भयो। थप गरिएको अतिरिक्त समयमा भने निकेश पराजित भएपछि कास्यमै सीमित भए।

पुरुषकै ६९ केजी तौलको क्वाटरफाइनलमा राजुराज शाही आयोजकका खेलाडीसँग पराजित भएपछि पदकविहीन भए। त्यसअघि राजुराज पहिलो खेल जितेर अन्तिम आठको यात्रा तय गरेका थिए। पदक विजेता खेलाडी बुधबार नेपाल आइपुगेका छन्।

खेलाडीलाई नेपाल किक बक्सिङ संघका महासचिव दीपक श्रेष्ठ, पदाधिकारी, रेक्स फेसन होम र खेलाडीले बुधबार अन्तर्राष्ट्रिय एयरपोर्टमा भब्य स्वागत गरे। उक्त प्रतियोगितामा कूल १९ राष्ट्रको सहभागिता रहेको थियो।