हरिवंशको हरिबहादुर आउँदै

0
Shares

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंशले आचार्य संस्मरण चिना हराएको मान्छेको सफलतापछि पहिलो उपन्यास हरिबहादुर लिएर आउने भएका छन्। हरिबहादुरको विमोचन उनका जोडी मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा आगामी शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने भएको छ।

उपन्यासकारको अवतारमा देखिन लागेका आचार्यले धेरै व्यक्तिले उपन्यास लेख्नका लागि घचघचाएपछि आफूले उपन्यास लेख्न तम्सेको बताए। ‘चिना हराएको मान्छे लेख्दा मैले विषयबारे सोच्न परेको थिएन। जिन्दगीमा भोगेका घटनालाई आफूले सकेसम्म रमाइलो पाराले लेखिदिए पुगेको थियो। तर, उपन्यास लेख्छु ‘भन्ने विचार बनाएपछि भने धेरै सोच्नुपरेको थियो’ आचार्यले भने ‘अन्ततः मैले मदनबहादुर हरिबहादुर टेलिश्रृङ्खलाको मलाई मन पर्ने पात्र हरिबहादुरलाई असफलता र मूर्खताको प्रतीक बनाएर एउटा पात्रप्रधाान उपन्यास बनाउने निधो गरेँ।’

उपन्यासको पाण्डुलिपि पढेका साहित्यकार रवीन्द्र समीरले भने, ‘मुख्यपात्र हरिबहादुरको बाल्यकाल, पारिवारिक एवम् सामाजिक जीवन र उसको उत्थान तथा पतन वरिपरि घुमेको यो उपन्यासमा तात्कालीन राजनीतिले हरिबहादुरलाई कसरी प्रयोग गर्यो तथा हरिबहादुरले द्वन्द्वकालीन राजनीतिलाई कसरी प्रयोग गर्यो भन्ने परिवेशमा उपन्यास केन्द्रित छ।’

उपन्यासको मूख्य पात्र आफूलाई संसारको सबैभन्दा बाठो ठान्छ तर जहाँ पाइला टेके पनि दश बल्ड्याङ खान पुग्छ। नकच्चरो, थेच्चरो, काइते, बदमास, भँडुवा, स्वाँठ, कुलङ्गार, आवारा यस्ता धेरै लक्षणले युक्त हरिबहादुरको क्रियाकलाप व्यक्तिगत भइकन पनि सामाजिक राजनीतिकजस्ता लाग्छन्।

स्थानीय चुनावको मुखमा सार्वजनिक हुन लागेको उपन्यासले अक्षम र अयोग्य व्यक्तिहरु कसरी जालझेल गरी चुनाव जितेर सत्तामा पुग्छन् भन्ने कुराको सटिक चित्रण हरिबहादुरमा गरिएको बताइएको छ।