बिहेसँगै घर फर्के पवन

0
Shares

रश्मी थापा

सरल जीवनयापनको खोजीमा सामाजिक संस्था पवित्र समाज नेपालमा आश्रय लिन पुगेका अभिनेता तथा निर्माता पवन मैनाली बिहेबारी हुने भएपछि घर फर्केका छन्। गाँस बास र समूचित व्यवहार तथा आफ्नो क्षेत्रले नहेरेपछि गाँस र बासको खोजीमा दीक्षा चापागाईंद्वारा सञ्चालित समाजिक संस्थामा शरण लिन पुगेका थिए।

पिता गोविन्दप्रसाद मैनालीले बिहेको प्रबन्ध मिलाएसँगै मैनाली गत वैशाख ११ गते कपनस्थित निवास फर्की विवाह बन्धनमा बाँधिएका हुन्। ५० वर्षका उनले दोलखाकी ३० वर्षीया लक्ष्मी शिवाकोटीसँग विवाह गरेका हुन्। आफ्नो शारीरिक अवस्था असामान्य रहेको कारण साहराका लागि बिहे गरेको बताउने पवनले बुधबार कपनस्थित निवासमा नेपाल समाचारपत्रसँग कुरा गर्दै विवाहपछिको जीवन निकै सुखद् भएको बताए। ‘आफूजस्ता मानिसहरुलाई हेरेर भए पनि मन बुझाउँछु र उतै बस्छु भनेर पवित्र समाज सामाजिक संस्थामा गएको थिएँ। त्यहाँ म ३ महिना बसेँ वैशाख ११ गते मेरो विवाहका लागि घरबाट फोन आयो र त्यही दिन घर फर्केर विवाह गरें। यदि विवाहको कुरा नआएको भए घर फर्किंदैनथे। अब घरमै बस्छु पवनले भने– ‘घरमै बसेर फिल्मकै काम गर्ने तयारी गर्छु।’

१४ वर्षअघि आफ्नो निर्माणमा बन्दै गरेको दोस्रो फिल्म दिदीबहीनीको सुटिङका क्रममा मोटरसाइकल दुर्घटनामा परी सख्त घाइते भएका उनले केही समय अघिदेखि विवाह गर्ने मनसाय बनाएका थिए। ‘मैले जति सोचेको थिएँ त्योभन्दा पनि असल मान्छे पाएको छु। उनी निकै सरल र सफा दिलको छिन्। विवाह पछि नयाँ जिन्दगी पाएको अनुभव भएको छु –उनले भने।

आफ्नो जमानाका चर्चित खलनायक उनी अब फिल्म क्षेत्रमै फर्किन चाहेको बताउँछन्। ‘यही अवस्थामा पनि अभिनय गर्न सक्छु। जसले बोलाए पनि काम गर्न तयार छु। नीर शाहको सेतो बाघमा पनि यही अवस्थामा अभिनय गरेको हुँ। अभिनयका लागि बोलाए अभिनय गर्छु, नत्र फिल्म निर्देशन गर्छु। खरानीको नाममा फिल्म बनाउने कन्सेप्ट पहिलेदेखि नै थियो। त्यही कन्सेप्टलाई म भन्छु र लक्ष्मीलाई लेखाउन लगाउँछु। अनि फिल्म निर्देशन गर्छुु, पवनले भने– उनको कारणले पनि मलाई काम गर्न सजिलो हुन्छ। उनकै कारण मैले फेरि फिल्म क्षेत्रमा फर्कने योजना बनाएको हुँ।’

यो बिहेको संयोग पनि अनौठो रहेछ। ‘गत फागुनबाट नै उहाँको कुरा आफन्तमार्फत आइरहेको थियो। मैले उहाँलाई पहिलेपहिले फिल्महरुमा देखेको थिएँ। त्योभन्दा बढी अरु वहाँको बारेमा थाहा थिएन। बिहे गर्न पनि मानेको थिइनँ। गत चैत ३१ गतेसम्म पनि विहे गर्न तयार थिइनँ’ –लक्ष्मीले सुनाइन् ‘पछि घरपैंचो भनेर मलाई काठमाडौं ल्याउनुभयो। तर विवाहका लागि पो रहेछ।

काठमाडौं आएको भोलिपल्ट नै बिहे भयो। उहाँको शारीरिक अवस्थाका बारेमा मलाई थाहा पनि थिएन। तर अहिले स्याहारसुसार गर्न केही कठिनाइ महशुस भएको छैन। शुरुमा त म निकै नर्भस थिएँ। तर पछि बानी भयो। म विहे गरेर आउँदा उहाँको खुट्टा काम्थ्यो। अहिले रेगुलर एक्सरसाइज गराएपछि ठीक हुँदै गएको छ। बिहानै उठेर आफ्नो काम आफैं गर्न थाल्नुभएको छ। उहाँसँग विवाह भएर उहाँको सेवा गर्न जुरेको रहेछ।’ विवाह अघि दोलखामा शिक्षिका रहेकी उनले केही एनजीओहरुमा पनि आवद्ध भएर काम गरेको बताइन्।

नायक निखिल उप्रेतीलाई आफ्नो प्रस्तुतिको पहिलो फिल्म पिंजडामार्पmत रजतपटमा भित्र्याउने श्रेय पाएका यी सशक्त अभिनेता दोस्रो फिल्म दिदी बहिनीको निर्माणका क्रममा निजगढमा मोटरसाइकल दुर्घटनामा परेर सख्त घाइते भएपछि उपचारका क्रममा लाखौं रुपियाँ मात्र गुमाएनन्, लामो समयसम्म दुःख र कष्ट त भोगे नै। त्यसका बाबजुद सरल तरिकाले हिँडडुल गर्न र हात चलाउन तथा प्रष्ट बोल्नसमेत असमर्थ भए।

उपचारमा खर्च गर्न परेपछि सर्लाहीका यी ५० वर्षीय अभिनेताले हरिवनमा आफूद्वारा सञ्चालित सिनेमा हल त बन्द गर्नुपर्यो नै, मस्तिष्कमा समेत चोट परेपछि स्मरण शक्ति पनि गुमाए र सधैंका लागि अशक्त भए। केही फिल्मी व्यक्ति र संघसंस्थाले उपचारका लागि आर्थिक सहयोग गरेका कारण सामान्य उपचार पाई स्वास्थ्यमा केही सुधार भएको महशुस गरेका उनलाई नियमित उपचार गराए उनी पूर्णरूपमा ठीक हुने चिकित्सकहरुले बताएका छन्। तर आर्थिक अभावका कारण त्यो सम्भव नभएको उनको पिता गोविन्दप्रसादले बताए। उनकी आमा दिव्येश्वरी मैनालीले छोराले फिल्म पाए र बुहारीले सानोतिनो जागिर पाए जिन्दगी बन्ने बताइन्। ‘बुहारीलाई जागिर र छोरालाई फिल्मको काम भए जीवन चल्थ्यो। अब त परिवार पनि बढ्यो।’ दिव्येश्वरी भन्छिन्– ‘जागिर र काम भए उपचार गराउन पनि सम्भव हुन्थ्यो।’