रिसाहा स्टोक्सले हात भाँचे

0
Shares

लन्डन, (एजेन्सी)
गुजरात लायन्सविरुद्ध सोमबार शतक प्रहार गरेर राइजिङ पुणे जायन्टको जितका नायक घोषित बेन स्टोक्स ज्यादै रिसाहा व्यक्तिको रुपमा चर्चित छन्। २६ वर्षीय अलराउन्डर इंग्ल्यान्डका स्टोक्सले २०१४ को विश्व कप टी–२० मा वेस्ट इन्डिजविरुद्ध जीरोमा आउट भएपछि आफ्नो हातै भाँचेका थिए। बायाँ हाते स्पिनर क्रिसमर सन्टोकीको बलमा बोल्ड भएका थिए उनी।

ड्रेसिङ रुपमा आउनेबित्तिकै इंग्लिस खेलाडीले आफ्नो रिस पोखेका थिए। स्टोक्सले एक लाकरमा आफ्नो रिस पोख्दा उनको नाडी र औंला भाँच्चिएको थियो। उनले जोडले हात लकरमा हिर्काउनाले गम्भीर घाइते भएपछि उनको टी–२० विश्वकप २०१४ बाट छुट्टी पनि भयो।

सानैमा पनि हात तोडे
सो घटनापछि स्टोक्सले टेलिग्राफमा दिएको अन्तर्वार्तामा बताए कि यो पहिलोपटक होइन यस्तो भएको। उनले सानै छँदा पनि धेरै रिस आउने खुलासा गरेका थिए। एक क्लब क्रिकेट खेल दौरान आफ्नो प्रदर्शनबाट निरास भएर उनले यस्तै घटना घटाएका थिए। स्टोक्सका अनुसार उनले ढोकामा हातले प्रहार गर्दा उनको हातै भाँच्चिएको थियो।

डिप्रेसनमा पनि पुगे
२०१६ को विश्वकप टी–२० को फाइनलमा वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले स्टोक्सको ओभरमा चार छक्का प्रहार गरेर आफ्नो टोलीलाई टी–२० विश्वकप दिलाइका थिए। फाइनल खेल हारेपछि यी इंग्लिस क्रिकेटर डिप्रेसनमा पुगेका थिए।

पहिलो टी–२० शतक
गुजरातविरुद्धको खेलमा स्टोक्सले ६३ बलमा १ सय ३ रनको नटआउट इनिङ खेले। उनको यो आईपीएल र टी–२० करिअरमा पहिलो शतकसमेत हो। यो इनिङमा उनले ७ चौका र ६ छक्का प्रहार गरेर पुणेलाई जित दिलाएका थिए। पुणे १० रनमा तीन विकेट गुमाएको अवस्थामा उनी क्रिजमा आएका थिए। जतिबेला कप्तान स्टिभ स्मिथसमेत आउट भएका थिए। उनले महेन्द्रसिंह धोनीसँग पाँचौं विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए।