सारापोभा २ सय ६२औं स्थानमा

0
Shares

लन्डन, (एजेन्सी)
मारिया सारापोभा सोमबार प्रकाशित डब्ल्यूटीए वरीयतामा २ सय ६२औं स्थानमा परेकी छन्। गत साता स्टुटगार्ट ओपन टेनिसको सेमिफाइनलमा पुगेपछि उनी सो स्थानमा परेकी हुन्। रसियन खेलाडीले प्रतियोगितामा वाइल्ड कार्ड मार्फत् प्रतिस्पर्धा गरेकी थिइन्। गत वर्ष अस्ट्रेलियन ओपनमा मेल्डोनियम औषधिको पोजिटिभ टेस्ट आएपछि सारापोभालाई २ वर्ष निलम्बित गरिएको थियो। पछि उनले कासमा अपिल गरेर सो सजायलाई १५ महिनामा खुम्चिएको थियो।

सारापोभाको पुनरागमन सानदार भएको थियो। उनले सेमिफाइनलसम्म सेट नहारी यात्रा गरेकी थिइन्। तर फ्रान्सकी क्रिस्टिना मिलाडेनोभिचसँग शनिबार उनी ३–६, ७–५, ६–४ ले हारेकी थिइन्। उनलाई आगामी हुने प्रतियोगिताहरू मेड्रिड र इटालियन ओपनमा वाइल्डकार्ड दिने आयोजकले निर्णय गरिसकेका छन्। तर उनका साथी खेलाडीहरूले यसको विरोध जनाइरहेका पनि छन्।

यदि सारापोभाले स्टुटगार्ट ओपनमा फाइनल खेलेको भए फ्रेन्च ओपनका लागि छनोट प्रतियोगितामा स्थान पाउनेथियो। तर फ्रेन्च ओपन टेनिस महासंघले दुई पटकका रोलान्ड गेरोस च्याम्पियनलाई वाइल्ड कार्ड दिने वा नदिने यसको घोषणा यसै मे १६ मा गर्नेछ। सारापोभा १ सयभन्दा बाहिर सन् २००९ पछि पुगेकी छैनन्।