क्रिकेटमा ठूलो दुर्घटना हुन सक्ने

0
Shares

फिरोज राजोपाध्याय, काठमाडौं
ठ्याक्कै एक वर्ष नाघिसक्यो नेपाल क्रिकेट संघ (क्यान) निलम्बित भएको। क्यानमा विवाद ल्याएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानलाई गत वैशाखमा निलम्बन गरेको थियो। यद्यपि खेलाडीप्रति उदार हुँदै आईसीसीले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय खेल सहभागिमा बाधा तुल्याएन। गत साता मात्रै पनि आईसीसीले नेपाली राष्ट्रिय क्रिकेटरको १५ महिनादेखि रोकिएको तलब खुवाउने समेत निर्णय गरेको थियो। यसले यही सन्देश जान्छ कि क्यानको विवाद समाधान भएका आईसीसी नेपाली क्रिकेटप्रति अझै उदारवादी हुनेमा शंका छैन।

नेपाली क्रिकेटलाई बचाउन मंगलबार भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डमा क्रिकेट खेलाडी संघले अन्तक्र्रिया कार्यक्रम आयोजना गर्यो। जसमा क्यान निलम्बन भएपछि समस्या समाधानका लागि गठन भएको आईसीसी सल्लाहकार समूह, तदर्थ समिति क्रिकेट संघ, निर्वाचित क्यानका सदस्य तथा क्रिकेटसम्बन्धी अन्य सदस्यबीच अन्तक्र्रिया गराएको थियो। साथै युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट पनि उपस्थित भएका थिए।

सो अन्तक्र्रियामा सल्लाहकार समूहले यदि यो एक महिना (मे महिना) भित्र समाधान ननिकालिएको खण्डमा नेपाली क्रिकेटमा ठूलो दुर्घटना हुने निष्कर्ष निकालेको छ। अमेरिकी क्रिकेट बोर्डलाई आईसीसीले कठोर कदम चाल्ने कुरा आएपछि नेपाली क्रिकेट अहिले हतासिएको छ।

सल्लाहकार समूहका संयोजक वसन्त चौधरीले बताए– ‘हामीसँग थोरै समय छ। एक वर्षअगाडि आईसीसीले दिएको घाउमा मल्हम लगाउन नसकिएमा यसले नेपाली क्रिकेटमा ठूलै दुर्घटना निम्त्याउनेछ। यसमा कसले जिम्मेवार लिने हो। यदि यस्तो भएमा मलाई लाग्छ नेपाली क्रिकेट समाप्त हुनेछ र कहिल्यै उठ्न सकिँदैन। अर्को कुरा क्रिकेटमा राजनीति घुसिएकोले पनि यसको समाधान नभएको प्रस्ट छ।’

नयाँ विधान तयार छ
उद्योगपति चौधरीले अमेरिकाको क्रिकेटको उदाहरण दिँदै बताए– ‘अमेरिकाको क्रिकेटको अवस्था अहिले जटिल छ। त्यहाँ र यहाँ उस्तै अवस्था सृजना भएको छ। यदि सरकार उदासीन भएमा क्यानको हविगत अमेरिकाकोझैं हुनेमा शंका छैन।’
सल्लाहकार समूहले सबैले स्वीकार्य हुने क्यानको नयाँ विधानको पहिलो ड्राफ्ट तयार गरिसकेको छ। सो समूहले यसका लागि शनिबार पूर्वाञ्चलको विराटनगरमा र त्यसपछि पोखरा र भैरहवामा निरीक्षण गर्नेछ। नयाँ ड्राफ्टमा जिल्लाहरूलाई बढी शक्तिशाली बनाउने र दर्ता नभएका क्लबहरूको मताधिकार खारेज गर्ने व्यवस्था गरिएको चौधरीले बताए। तर यसलाई जारी गर्ने भन्नेमा समस्या आएको उनको भनाइ छ।

विष्टद्वारा बहुमतको आधार लिन सल्लाह
राखेपका सदस्यसचिव विष्टले सल्लाहकार समितिलाई विधान पेस गर्न बहुमतकै आधारमा भए पनि अगाडि बढ्न सल्लाह दिएका छन्। विष्टले भने– ‘एक महिनाभित्र विधान राख्नै पर्यो। त्यो पनि सबैले मान्ने खालको। चुनाव जसरी नि हुन्छ।’

उनले थपे– ‘क्रिकेटमा सरकार र राखेपले धेरै लगानी गरेको छ। अर्बौं लगानी छ। हामीले क्रिकेटलाई जानी जानी विवादमा राखेको पनि होइनौं। कोही स्वघोषित अध्यक्ष बन्छन् भने त्यसलाई मान्यता कसरी दिने? त्यसो त आईसीसीले पनि सरकारी हस्तक्षेप उल्लेख गरेकै छैन।’

मन्त्रीको रेलमा नचढे छुटिन्छ
युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले समाधानको रेल चलिसकेको बताए। क्रिकेटलाई माया गर्ने हो भने यो रेलमा चढ्नुपर्ने भन्दै उनले बताए– ‘समाधान हुन्छ। रेल चलिसकेको छ। यसमा जो चढ्छ चढे, नचढेकालाई फेरि बोलाउन सकिँदैन। उनीहरू छुट्छ।’

यसै गरी कार्यक्रम भएको करिब एक घण्टापछि प्रवेश गरेका तदर्थ समितिका अध्यक्ष रमेश सिलवालले आईसीसी त्यति कठोर नबन्ने विश्वास गरेका छन्। उनले भने– ‘मलाई लाग्छ आईसीसीले क्यानलाई खारेज गरिँदैन। हामी यसै विश्वासमा छौं।’

चन्द र प्याकुरेल उपस्थित भएनन्
गम्भीर विषयमा भएको अन्तक्र्रियामा निर्वाचित भनिएको क्यानका दुई पदाधिकारी अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल भने उपस्थित भएनन्।
नेपाल समाचारपत्रसँग प्याकुरेलले आफू बाहिर भएको बताए। उनले भने– ‘म काठमाडौंबाहिर थिएँ। हामीलाई निमन्त्रणा पनि आएन। केवल मेलमा निमन्त्रणा आएको थियो। अध्यक्ष बैतडीमा हुनुहुन्छ। त्यहाँबाट आउन कुरै भएन। मैले मे २ पछि अन्तक्र्रिया राख्न पनि अनुरोध गरेको थिएँ। हामीले बहिष्कार गरेका होइनौं।’