६ नृत्य निर्देशक सम्मानित

0
Shares

अन्तर्राष्ट्रिय नृत्य दिवसको अवसरमा आधा दर्जन नृत्य निर्देशकहरुलाई सम्मान गरिएको छ। नृत्य निर्देशक संघ नेपालले राजधानीमा सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी नृत्यको विभिन्न विधामा योगदान पुर्याउने आधा दर्जन नृत्य निर्देशकलाई सम्मान गरेको हो। कार्यक्रममा कत्थक नृत्यतर्फ मनोरञ्जन जोशी, भरत नाटइ्ममा वीणा जोशी राजभण्डारी र लोक नृत्यमा स्यानेबहादुर रानालाई सम्मानित गरिएको थियो।

त्यस्तै फिल्म नृत्यतर्फ नृत्य निर्देशक राजु शाह र चर्यानृत्यमा यज्ञमान पति वज्राचार्यलाई सम्मान गरियो। त्यस्तै विभिन्न फिल्म र म्युजिक भिडियोमा नृत्य निर्देशन गर्नुका साथै फिल्म निर्देशनसमेत गरेका तथा नृत्य निर्देशन क्षेत्रबाट पहिलोपटक पाइलट भएका हिमग्याप लामा टासीलाई विशेष सम्मान गरियो।

समारोहमा कार्यक्रमका संयोजक तथा संघका उपाध्यक्ष प्रदीपमान श्रेष्ठले फूलमाला र संघका अध्यक्ष भुवनदास श्रेष्ठले सम्मानित व्यक्तित्वलाई खादा पहिराएका थिए। त्यसै गरी पहिलो नृत्य निर्देशक नृत्य गुरुबा भैरवबहादुर थापाले सम्मानित नृत्य निर्देशकहरुलाई सम्मानपत्र प्रदान गरेका थिए। सो अवसरमा नृत्य निर्देशक भैरवबहादुर थापा, शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशी र वरिष्ठ गीतकार रत्नशमसेर थापाले संयुक्तरुपमा स्मारिका विमोचन गरेका थिए। त्यस्तै संघका अध्यक्ष भुवनदास श्रेष्ठले नृत्य निर्देशक संघ नेपालको स्थापना दिवस साउन २६ गतेको दिनलाई राष्ट्रिय नृत्य दिवसको रूपमा मनाउने घोषणा गरे।