आम्दानीको बलियो स्रोत बन्दै बाख्रापालन

0
Shares

शोभाखर पन्थी, अर्घाखाँची
जिल्लाका कृषक बाख्रापालन व्यवसायमा आकर्षित भएका छन्। जाँगर चलाएपछि थोरै लगानीबाट पनि मनग्ये आम्दानी हुन थालेपछि यहाँका कृषक बाख्रापालनतर्फ आकर्षित भएका हुन्।

जिल्लाको ठाडा, सीतापुर, सुर्वणखाल, जलुके, जुकेना, सिद्धारा, पटौटी, बल्कोट, सिमलपानी, धनचौर, मैदान, गोखुंगा, हंसपुरलगायतका गाउँमा व्यावसायीक रुपमा बाख्रा पालिँदै आएको छ। बाख्रापालनबाट यहाँका कृषकले लाखौं रुपियाँ आम्दानी गर्ने गर्छन्। अर्घाखाँचीका उल्लेखित स्थानका अतिरिक्त अन्य ठाउँमा पनि कृषकले बाख्रापालन व्यवसायलाई जोड दिन थालेका छन्।व्यावसायिक रुपमा धेरै बाख्रा पालेर बाख्राफाराम सञ्चालन गर्न नपाउनेले पनि १⁄२ वटा बाख्रा बधुवाको रुपमा घरमै पाल्दै आएका छन्।

पछिल्लो समयमा सदरमुकाम सन्धिखर्क र आसपासका इलाकामा पनि बाख्रा पाल्ने प्रचलनमा व्यापक विस्तार भएको छ। व्यापार व्यवसाय गर्ने पसले र सरकारी कार्यालयमा काम गर्ने कर्मचारीले पनि घरको छेउमा खोर बनाएर एउटा न एउटा बाख्रा पालेको पाइन्छ। एउटा बाख्रो वर्षमा दुईपटक ब्याउने र वर्षमा २⁄३ वटासम्म खसी बिक्री गर्दा २० हजारदेखि ५० हजार रुपियाँसम्म मूल्य पर्ने गरेको स्थानीय बासिन्दा बताउँछन्। घरमा १⁄२ वटा मात्र बाख्रापालन गर्दा पनि करेसाबारीमा राख्नका लागि प्रशस्तै मल हुने भएकाले आफूले आफ्नो परिवारका लागि आवश्यक पर्ने हरियो तरकारीमा पनि आत्मनिर्भर भएको सदरमुकामबासी बताउँछन्। तरकारी केलाएका बोक्रा र घरमा बँचेको खाने कुराको भरमा मात्र पनि बाख्रा पालेको उनीहरु बताउँछन्।

जिल्लाको सन्धिर्खक, किमडाँडा, वाङला, बल्कोट, केरुङगा, चिदीका, छत्रगन्ज, अर्घातोष, भगवती र मरेङका कृषकले उन्नत जातका बाख्राँपालन गरी फाइदा लिएको भए पनि व्यावसायिक रुपमा बाख्रापालन गदै आएको दुर्गम ठाउँका कृषकले लगानी र मेहनत अनुसारको प्रतिफल पाउनका नसेको कृषकहरुको भनाइ छ। गाउँमा पालिएका अधिकांश बाख्राहरु खरीजातको भएको र बाख्रा ब्याडको लागि उन्नत जातको बोकाको अभावमा नयाँ जन्मिने पाठापाठी साना र किचिला भएकाले आम्दानी कम हुने कृषकहरु बताउँछन्।

जिल्ला पशु सेवा कार्यालयले प्रत्येक वर्ष पशु विस्तारसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको भए पनि ती कार्यक्रमबाट लक्षित समुदायको माग पूरा नभएको कृषकको गुनासो छ। कृषि र पशु सेवा कार्यालयका कर्मचारी गाउँ र किसानमुखी भएर कृषकलाई आधुनिक पशुपालन र कृषि प्रणालीतर्फ डोर्याउनुको सट्टा बजारमा गोष्ठी र भत्तामुखी भई सदरमुकाममा मात्र थन्किंदा आफ्नो व्यवसाय धरापमा परेको कृषकको गुनासो छ।

अर्घाखाँची अथाह वन सम्पादा भएको र वनमा पोषिलो घाँस तथा बाख्रापालका लागि उपयुक्त भू–बनोट र हावापानी भएको जिल्ला मानिन्छ। १० वर्ष पहिलेसम्म तराईका जिल्लाबाट खसीको आयात गरीने अर्घाखाँचीमा अहिले मासुका लागि अन्यत्र खोज्न जानु नपर्ने व्यापारीहरु बताउँछन्। अर्घाखाँची अहिले मासुका लागि आत्मनिर्भर बनेको छ। तथापि सरकारी बेवास्ताका कारण व्यवसाय फस्टाउन नपाउँदा निर्यात भने अति कम मात्रामा भइरहेको छ।

सरकारले अर्घाखाँचीका कृषकका लागि बाख्रापालन सम्बधी विषेश कार्यक्रम ल्याएमा जिल्लाका बेरोजगार युवा विदेशिनबाट रोकिएर आफ्नै घरमा बसेर आम्दानी गर्न सक्ने स्थानीय बुद्धिजीवीको भनाइ छ।