राष्ट्र बैंकमा सरकारको २३३ अर्ब थुप्रियो

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
नयाँ आर्थिक वर्षका निम्ति बजेट ल्याउन संविधान संशोधन गर्ने कि नगर्ने, बजेट कहिले ल्याउने भन्ने विषयमा बहस भइरहँदा चालू आर्थिक वर्षमा पुँजीगततर्फ हालसम्म करिब ९० अर्ब रुपियाँमात्र खर्च भएको छ। सरकारले चालू आवमा पँुजीगततर्फ ३ खर्ब ११ अर्ब ९४ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालका अनुसार चालू आर्थिक वर्षमा पुँजीगत खर्च कम हुँदा अहिले राष्ट्र बैंकमा सरकारको २३३ अर्ब ५९ करोड रुपियाँ थप्रिएर बसेको छ।

राष्ट्र बैंकका अनुसार वैशाख पहिलो सातासम्म नगद प्रवाहमा आधारित सरकारको राजस्व परिचालन ४१ दशमलब ८ प्रतिशतले वृद्धि भई ४२६ अर्ब ५२ करोड रुपियाँ पुगेको छ। यो वार्षिक लक्ष्यको ७५ दशमलब ४ प्रतिशत हो। कुल सरकारी खर्च ४५ दशमलब ५ प्रतिशतले वृद्धि भएको छ। यसमध्ये चालू खर्च ४५ दशमलब ७ प्रतिशतले र पुँजीगत खर्च १२२ प्रतिशतले वृद्धि भएको छ। तर, पुँजीगत खर्च बजेट अनुमानको २५ दशमलब ४ प्रतिशत रहेको छ।

पुँजीगत खर्च पर्याप्त नभए पनि मुलुकको आर्थिक वृद्धिदर करिब ७ प्रतिशत हुने आँकलन गरिएको छ। यसमा केन्द्रीय तथ्यांक विभागको प्रतिवेदनअनुसार अनुकूल मौसम, कृषिजन्य वस्तुको सहज आपूर्ति, वन पैदावर र उत्खनन् गतिविधिसमेत बढेका कारण चालू आर्थिक वर्षमा कृषिलगायतका प्राथमिक क्षेत्रको वृद्धि ५ दशमलब ३ प्रतिशत योगदान रहने छ।

त्यस्तै चालू आर्थिक वर्षमा ऊर्जा आपूर्तिमा भएको सुधार एवम् विस्तार र पुनर्निर्माणले लिएको गतिबाट उद्योग, निर्माण तथा विद्युत् क्षेत्रको वृद्धिदर ११ प्रतिशत रहने देखिन्छ। पर्यटक आगमनमा भएको वृद्धि, बन्द हडताल एवम् संरचनागत अवरोधमा आएको कमी र बैंकिङ कर्जामा भएको विस्तारलगायतका कारण सेवा क्षेत्रको विस्तार ६ दशमलब ९ प्रतिशतले हुने अनुमान छ। चालू आर्थिक वर्षमा आधारभूत मूल्यमा ६ दशमलब ९ प्रतिशत र उत्पादकको मूल्यमा ७ दशमलब ५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्यांक विभागको छ।
आपूर्तिमा सहजता तथा कृषि उपजमा बढोत्तरीलगायतका कारण पछिल्ला महिनामा मुद्रास्फीति निरन्तर घट्दै गएको छ। गत चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३ दशमलब ८ प्रतिशत रहने अनुमान छ। चालू आर्थिक वर्षमा मुद्रास्फीति लक्षित ७ दशमलब ५ प्रतिशतभन्दा न्यून रहने देखिन्छ ।

आर्थिक वृद्धिदरमा सुधार भए पनि वस्तु व्यापारघाटा ४७ दशमलब ६ प्रतिशतले बढेर ५८० अर्ब ३४ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापारघाटा १२ दशमलब ५ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७ दशमलब ७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलब ८ प्रतिशत रहेको थियो।
यस बीचमा कुल वस्तु आयात ४४ दशमलब २ प्रतिशतले बढेर ६२८ अर्ब ५६ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ दशमलब ९ प्रतिशतले घटेको थियो। भारतबाट भएको आयात ५९ प्रतिशत, चीनबाट भएको आयात १७ दशमलब ५ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २६ दशमलब २ प्रतिशतले बढेको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, एमएस विलेट, अन्य मेसिनरी तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाइल, कच्चा रेशम, तयारी पोशाकलगायतका वस्तुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार, विराटनगर भन्सार र जलेश्वर भन्सार नाकाबाट भएको निर्यातमा कमी आए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ। आयाततर्फ अवधिमा कैलाली भन्सार र भैरहवा भन्सार नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ।