दिल्लीमाथि पन्जाबको सहज जित

0
Shares

नयाँ दिल्ली, (एजेन्सी)
इन्डियन प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा दिल्ली डेयरडेभिल्सले खराब ब्याटिङ गर्दा विपक्षीलाई खेल जित्न धेरै ओभर पनि खेल्नुपरेन। किंग्स इलेभेन पन्जाबले उक्त कम स्कोरको लक्ष्य केवल ७.५ ओभरमै भेटाएको थियो। मार्टिन गप्टिलले ५० रन एक्लैले बनाइदिँदा पन्जाबले सो खेल १० विकेटले जितेको थियो। यसअघि सन्दीप शर्माले घातक बलिङ गर्दा दिल्ली ६७ रनमै अलआउट भएको थियो। सन्दीपले मोहालीको स्लो पिचमा चार विकेट लिएर करिअरकै उत्कृष्ट बलिङ गरेका थिए।

सुपर ओभरमा मुम्बई बन्यो सुपर
यस्तै शनिबार राति भएको खेलमा गुजरात लायन्स र मुम्बई इन्डियन्सबीचको खेल निर्णय सुपर ओभरबाट हुँदा मुम्बई नै सुपर टोली साबित बन्न सफल भयो। राजकोटमा भएको रोमाञ्चक खेलमा दुबै टोलीले निर्धारित २० ओभरमा १ सय ५३ रन बनाएका थिए। खेल टाई भएपछि यसको निर्णय सुपर ओभरमा भएको थियो। सुपर ओभरमा मुम्बईले एक ओभरमा दुई विकेटको क्षतिमा ११ रन जोडेको थियो। जुन त्यति कठिन लक्ष्य पनि थिएन। तर गुजरातले एक ओभरमा मात्र ६ रन मात्रै बनाउन सक्यो र जित्ने खेल हार्न बाध्य भयो।

दोस्रो इनिङमा ब्याटिङ गरेको मुम्बईका लागि जोस बोटलरले राम्रो शुरूआत दिलाउन सकेनन्। उनी ९ रनमा आउट भए भने अंकित सोनी १९ रनमा पवेलियन फर्केका थिए। अघिल्ला खेलमा विस्फोटक ब्याटिङ गरेका रोहित शर्माले पनि ६ रन मात्रै बनाउन सकेका थिए। उनलाई जेम्स फकनरले आउट गरेका थिए। तर पार्थिव पटेलले एक इन्डबाट रन बटुलेर मुम्बईलाई आशा दिलाइरहे। उनले ४४ बलमा ७० रन बनाएर आफ्नो उत्कृष्ट प्रस्तुत गरे। फकनरले उनलाई आउट गरेका थिए।

यसअघि गुजरातका खतरनाक ब्याटसम्यान ब्रेन्डन म्याककुलम लासिथ मालिंगाको बलमा ६ रन बनाएर आउट भएका थिए। कप्तान सुरेस रैना पनि एक रन र आरोन फिन्च विना रनमै पवेलियन फर्कदा गुजरातको ब्याटिङ कमजोर बनेको थियो। दिनेश कार्तिक पनि दुई रनमा स्टम्प आउट भएका थिए। यसपछि इशान किशनले फेरि आफ्नो ब्याटिङले प्रभावित गरे। उनले ३५ बलमा ४८ रन बनाएका थिए। त्यस्तै रवीन्द्र जडेजाले २८ रनको महत्त्वपूर्ण इनिङ खेले। मुम्बईका कृणाल पाण्डेले तीन विकेट लिए भने बुमराह र मालिंगाले दुई–दुई विकेट लिएका थिए।