बार्यन लगातार पाँचौंपटक च्याम्पियन

0
Shares

बर्लिन, (एजेन्सी)
बायर्न म्युनिख लगातार पाँचौंपटक जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ। जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति भएको खेलमा उल्फ्सबर्गलाई ६–० गोलअन्तरले पराजित गरेपछि बार्यनले लगातार पाँचौपटक बुन्डेसलिगाको उपाधि उचालेको हो।

जर्मन लिगको जारी सिजनमा पनि बार्यनकै दबदबा रह्यो। जारी सिजनमा बायर्नले मात्र दुई खेल गुमाएको छ। ३१ खेलमा २२ जित र ७ बराबरीसँगै ७३ अंक जोडेको बायर्नले दोस्रो स्थानको लेप्जिगसंग १० अंकको अग्रता कायम गरेपछि उपाधि पक्का गरेको हो।

उल्फ्सबर्गको घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले अल्बाको गोलबाट शुरूआती अग्रता लिएको थियो। यस्तै खेलको ३६औं र ४५औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले गोल गरेपछि बार्यनले पहिलो हाफसम्म ३–० को अग्रता बनायो।
खेलको ६६ औं मिनेटमा आर्जेन रोबिनले गोल गर्दै बायर्नको गोलसंख्या चार पुर्याए।यसै गरी ७८औं मिनेटमा लुइज गुस्तोभाले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भयो। खेलको ८०औं मिनेटमा थोमस मुलरले पाँचौं गोल गरे भने ८५ औं मिनेटमा किमिचले गोल गर्दै बार्यन म्युनिखलाई आधा दर्जन गोल अन्तरको शानदार जित दिलाए।

सन् २०११–१२ को सिजनमा बोरुसिया डर्टमन्डले उपाधि जित्दा दोस्रो भएको बायर्नले त्यसयता लगातार पाँचौंपटक बुन्डेसलिगाको उपाधि निश्चित गरेको हो। यो समग्रमा बायर्नको २७औं बुन्डेसलिगा उपाधि बनेको छ।