बृद्धबृद्धाको अवस्था देखेर भक्कानिए सुन्दरी

0
Shares

लमजुङ, (नेस)। लमजुङका मिस र मिसेसहरू तार्कुघाटको हर्राबोटस्थित सर्वोदय सेवाश्रममा रहेका बृद्धबृद्धाको अवस्था देखेर भक्कानिए। अमेजोन इन्टरटेनमेन्ट  काठमाडौंको आयोजनामा हुन लागिरहेको मिस एन्ड मिसेस लमजुङ प्रतियोगिता– २०१७ प्रतियोगिताका सहभागीलाई उक्त आश्रममा भ्रमण गराइँदा उनीहरू त्यहाँको स्थिति देखेर भक्कानिएका हुन्।

त्यस अवसरमा त्यहाँ आश्रित आमाहरूको अवस्था देखेर केही सहभागी भक्कानिँदै रोए। ‘मसँग एकजना आमाले चुरोट, सुर्ती खानका लागि भनेर १० रूपैयाँ माग्नुभयो। त्यसपछि मन थाम्न सकिनँु एक सहभागीले भनिन्। मिस र मिसेसहरूलाई समाजसेवाको भावना जागृत गरी त्यसतर्फ उत्प्रेरित गर्ने उद्देश्यले आश्रमको भ्रमण गराइएको आयोजक संस्थाले जनायो। सो अवसरमा बृद्धबृद्धाका लागि टिमको तर्फबाट केही खाद्यान्न सामग्री पनि सहयोग गरिएको थियो। सहभागीहरूले बृद्धबृद्धालाई जुस वितरण गरेका थिए।

उक्त प्रतियोगिताबाट विजयी हुने मिस लमजुङले मिस ब्युटी क्विन र मिसेस लमजुङ आइडलले मिसेस नेपाल आइडलमा भाग लिन पाउने व्यवस्था गरिएको बताइएको छ। भदौ महिनामा हुने मिस ब्युटी क्विन एण्ड मिसेस नेपाल प्रतियोगितामा लमजुङबाट विजयी हुने २ जनालाई निःशुल्क सहभागिताको व्यवस्था गरिने भएको छ।