नृत्य प्रतियोगिताका विजयीलाई पुरस्कार

0
Shares

अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता नाईं मलाई थाहा छैनका विजयीलाई पुरस्कार प्रदान गरिएको छ। राजधानीको नयाँ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आयोजित एक कार्यक्रमका बीच बाबा एजुकेसन कन्सल्टेन्सीद्वारा सम्पन्न प्रतियोगितामा विजयी हुने ए स्क्वायर क्रिउका आयुष चौधरी र अभय चौधरीलाई कन्सल्टेन्सीका तर्फबाट १ लाख रुपियाँ पुरस्कार प्रदान गरिएको थियो। प्रतियोगिताको प्रतियोगी नागी डान्स सेन्टर इटहरीको भिडियोलाई विशेष सम्मान र प्रोत्साहनस्वरूप २५ हजार रुपियाँ प्रदान गरिएको थियो। त्यस्तै प्रतियोगिताको उत्कृष्ट १० मा पर्ने प्रतियोगीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

सोही अवसरमा गायक सञ्जीव पराजुलीको डेब्यु एकल एल्बम सुन्यसमेत सार्वजनिक भएको छ। सञ्जीवले सो प्रतियोगिताका लागि गाएको नाई मलाई थाहा छैन बोलको गीत श्रोताले रुचाएको गीतमा पर्दछ। यो गीतमा उनलाई गायिका टीका प्रसाईंले स्वरमा साथ दिएकी छन्। कार्यक्रममा संगीतकार शक्ति बल्लभ, राजु सिंहलगायतले एल्बम संयुक्त रूपमा विमोचन गरेका थिए।

संगीतकार बल्लभले सांगीतिक क्षेत्रमा नयाँ अनुहारको आगमन हुनु सुखद् रहेको चर्चा गरे भने अर्का संगीतकार प्रवासमा बसेर पनि संगीतमा सक्रिय भई एल्बम निकाल्नु आफैंमा सकारात्मक रहेको बताए। विमोचित एल्बममा झिलमिल झिलमिल, चाहनामा म तिम्रो, प्रेमरंग, बादलसँगै र धुलो भई बोलका गरी ५ गीत छन्। यी गीतमा होमनाथ न्यौपाने, हर्कुलस बस्नेत, निष्प्रभ साजीको शब्द तथा दीपक भट्टराई, हेमन्त राना तथा हर्कुलस बस्नेतको संगीत छ। गायक पराजुलीलाई प्रेम रंग बोलको गीतमा गायिका बानिका प्रधानले साथ दिएकी छन्।