परराष्ट्रले ध्यान देओस्



अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीका बारेमा भगवती तिमल्सिनाले गत शुक्रबार लेख्नुभएको समाचार रमाइलो लाग्यो। उहाँले राजदूतका बारेमा वास्तविक समाचार लेख्नुभएकोमा धन्यवाद पनि दिन चाहन्छु। राजदूत आउने बेलामा यो गर्छु र त्यो गर्छु भनेर प्रतिबद्धता जनाउने तर केही पनि नगर्ने अवस्था नेपालका हरेकजसो कूटनीतिक नियोगहरुको रहने गरेको छ।

त्यसको लगाम लिएर बसेको परराष्ट्र मन्त्रालयले आवश्यक निर्देशन दिएर त्यो पूरा भए नभएको नियमित अनुगमन गर्ने हो भने त्यस्तो समस्या उत्पन्न हुने थिएन। त्यसैले विदेशमा रहेका राजदूतावास र नियोगहरुलाई जिम्मेवार बनाउन सबैभन्दा पहिला त नियुक्ति गर्दा नै काम गर्न सक्ने सही मान्छे छनौट गर्नु जरुरी रहेको छ। त्यसपछि उनीहरुलाई निश्चित समयमा गरिसक्नुपर्ने काम छुट्याएर त्यो पूरा भयो कि भएन भनेर आवधिक मूल्यांकन गर्ने हो भने त्यस्ता समस्या आउने थिएनन्। यसतर्फ परराष्ट्र मन्त्रालयले ध्यान देओस्।

– सन्तोष सापकोटा, हाल– न्यूयोर्क, अमेरिका

धर्मपरिवर्तन बढी भयो

नेपाल धर्मनिरपेक्ष देश हो। नेपालको संविधानले पनि सबै धर्मलाई स्वतन्त्र भनेको छ। स्वतन्त्ररूपमा धर्म मान्न पाउने हाम्रो हक हो। तर संविधान विपरीत केही कुतत्त्वहरु धर्मपरिवर्तन गराउन तल्लीन छन्। बजारमा धर्मपरिवर्तन गराउने हुल पेसेवर बनेर लागेका छन्। विभिन्न प्रलोभनदेखि आश्वासनसमेत दिएर धर्मपरिवर्तन गराइरहेका छन्। संविधानले धर्मपरिवर्तन गर्नु⁄गराउनुलाई कानुनीरूपमा मान्यता दिएको छैन। तर गुपचुप हुने गरेको यो धर्मपरिवर्तनको खेल रोक्न अब सरकारी निकायसहित प्रहरी प्रशासनले समेत केही कदम चाल्नुपर्ला।

नक्कली नोटबारे वास्तविकता के हो ?

विभिन्न अनलाइन समाचारमा अहिले नेपाली १ हजार र ५ सय दरको नक्कली नोट बजारमा आएको खबर आइरहेको छ। यस्तो खबर आधिकारिक हो वा हल्ला मात्र हो ? बुझ्न सकिएन। इन्टरनेटको बजारमा छ्यापछ्याप्ती रहेका अनलाइन समाचारले पोस्ट गरिरहेका यी समाचारका विषयमा आधिकारिक कुरा नेपाल प्रहरीले आमजनतालाई दिनु जरुरी देख्छु। नक्कली नोटका यस्ता समाचारले हामी निकै अन्योलमा परेका छौं। वास्तविक कुरा के हो ? नेपाल प्रहरीको आधिकारिक धारणा आओस्।

– अनमोल भट्टराई, कीर्तिपुर, काठमाडौं

नगरक्षेत्र कति फोहोर ?

बझाङमा नगरपालिका स्थापना भएको ३ वर्ष पुग्दा पनि फोहोरमैलाको डंगुर छ। जयपृथ्वी नगरपालिकाको फोहोरलाई सिधै खोलामा मिसाउने गरेको अवस्थामा पनि सरोकारवाला निकाय मौन छ। नगरपालिकाले बाहुलीगाड खोला किनारमा अव्यवस्थित रूपमा फ्याल्दै आएको छ। नगर क्षेत्रबाट संकलित फोहोरलाई ब्यवस्थापन नगर्दा विभिन्न रोगको प्रकोप बढ्ने खतरा देखिएको छ। सेती नदी र बाहुलीगाड दोभानभन्दा ५ सय मिटरमाथि फाल्ने गरिएको फोहोर सेती नदीमा मिसिदा नदी नै दुर्घन्धित बनेको छ।

सेती नदी आसपासका धेरै गाउँका मान्छेले नुहाउने र लुगा धुने ठाउँ बनाएको पानीमा फोहोर मिसाउँदा समस्या सिर्जना भएको छ। बाहुलीगाडको पानी प्रदूषित हुँदै गएपछि नुहाउँदा छालाजन्य रोगको संक्रमण पनि यहाँ हुन थालेको छ। यो विषयमा तत्काल नगरपालिकाले केही नसोचे महामारीको डर छ।

चुनाव नहुने हो र ?
सरकारले तराई मधेसका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने निर्णय गरेलगत्तै एमालेले संसद अवरुद्ध बनायो। आफ्नो निर्णयबाट सरकार पछि हट्यो फेरि। निणर्यबाट पछि हटेपछि एमालेले संसद्को अवरोध हटायो। तर, फेरि पनि मधेसीको या एमालेको या अन्य जो कुनै दलबाट हुन सक्ने संसद् अवरुद्धको डरबाट सत्तापक्ष मुक्त भएको पाइएन।

एमाले संविधान संशोधन प्रस्ताव जसरी पनि अवरुद्ध पार्न तिर लाग्छ। सत्ता पक्ष जसरी पनि पेलेर जान चाहेको जस्तो भान भइरहेको छ। देश शंकटमा पर्न लागिसक्यो। निर्वाचनको समय सीमा धेरै छैन। दलगत वा व्याक्तिगत सत्ताको राजनीतिले नेपाली जनतालाई कहिलेसम्म पिरोल्ने नेताज्यू हामीलाई जवाफ चाहिएको छ।

– राजेन्द्र श्रेष्ठ, शंखमूल, काठमाडौं

हाम्रो राष्ट्रियता नमेटाउ

दौरा–सुरुवाललाई राष्ट्रिय पोशाक बनाउन माग गर्दै राजधानीमा भएको प्रदर्शनले मलाई निक्कै छोएको छ। नेपाली जनता र नेपाल आमाको अस्तित्वलाई धरापमा पार्ने गरी भएका राष्ट्रघाति कदमले हामीलाई समस्यामा पारेको छ। गणतन्त्रमा झनै बलियो हुनुपर्ने राष्ट्रियता धमिलो भएको छ। सगरमाथाको सान घटेको छ। लुम्बिनीको मान घटेको छ। गुन्यु चोली र दौरा सुरुवाल हराएको छ। जंगलमा डाँफे चरी र मुनाल आफ्नैहरुसँग डराएको छ। कुनै बेला छाति फुल्याएको नेपाली झण्डा विदेशीसामू झुकेको छ। नेपालमा एकताको सन्देश दिने हिमाल पहाड तराई लुकेको छ। विभिन्न प्रदेशका नाराले राष्ट्रियता कता हरायो हरायो। हैन हामी आफैूंलाई मेटाएर आफ्नो पहिचान गुमाएर के म भनेर कसरी गर्व गर्न सकौंला र खोई ?

– सुरेन्द्र भट्टराई, महोत्तरी

प्रहरीको लडाइँ कहिलेसम्म ?

प्रहरी महानिरीक्षक नियुक्ति विवाद अझै टुंगिएको पाइएन। अदालतमा पुगेको यो विषय नटुंगिदा शान्ति सुरक्षामा समेत असर पर्न सक्ने देखिएको छ। चेन अफ कमान्डमा चल्ने प्रहरी फोर्स आफैंमा बरियताको विवादमा अल्झनु र यो विषय अदालतबाट छिट्टै पार नलाग्दा समस्या सिर्जना भएको जस्तो मलाई लागेको छ। कार्यसम्पादन मूल्याङ्कनमा फरक–फरक गडबडी देखिंदा पनि कही न कही केही न केही भएको जस्तो लागेको छ। यस विषयमा उचित अनुसन्धान र छानविन गरी प्रहरी सेवामा विश्वसनीयतासंगै चेन अफ कमान्डलाई नबिगार्न म अनुरोध गर्दछु।

ट्राफिक लाइटको कुरा कता हरायो ?

काठमाडौंमा नयाँ ट्राफिक लाइट जडानको योजना अहिले कहाँ पुगेको छ ? एसियाली विकास बैंकको ५१ प्रतिशत अनुदान र २१ प्रतिशत ऋणमा जडान गर्ने भनिएको लाइटको विषय अहिले हराएको छ। सरकारले ३३ करोड रकम छुट्याएको यो विषयमा खोजिनीति हुनु जरुरी छ। विभिन्न राम्रा कार्यक्रम आए पनि लागू नगरिनु नेपालको निक्कै ठूलो समस्या हो। अत्यन्त संवेदनशील कुरो ट्राफिक लाइट जडानका विषयमा नेपाल सरकारले ध्यान दिने कि ?
– खिमलाल खनाल, कीर्तिपुर, काठमाडौं

प्रतिक्रिया दिनुहोस्