दश खेलाडीको युनाइटेडले सिटीलाई रोक्यो


लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिगअन्तर्गत एकै सहरका म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीचको डर्बी खेल गोलरहित बराबरीमा टुंगिएको छ।

बिहीबार राति भएको खेलमा युनाइटेडले १० खेलाडीसहित खेल्दै सिटीसँग उसकै घरेलु मैदान इत्तिहाद स्टेडियममा एक अंक जोड्यो। उक्त खेलमा युनाइटेड ८४औं मिनेटपछि १० खेलाडीमा खुम्चिएको थियो। यसका बावजुद युनाइटेड सिटीलाई रोक्न सफल भएको थियो।

सिटीका सर्जिओ एग्युरोलाई हेडबट हानेपछि युनाइटेडका फेलिनीले सिधै रातो कार्ड पाएका थिए। त्यसअघि खेलको ७९औं मिनेटमा सिटीका नियमित गोलकिपर ब्राभोले घाइते भएर मैदान छाड्नुपरेको थियो।

तुलनात्मक रूपमा आक्रमक खेल पस्केको सिटीले गोलका लागि धेरै मौका गुमाएपछि खेल बराबरीमा सकिएको थियो। स्वीडिस स्ट्राइकर ज्लाटान इब्राहिमोभिचको अनुपस्थितिले युनाइटेडको अग्रपंक्ति फिक्का बनेको थियो। इब्राहिमोभिच घुँडाको चोटका कारण नखेलेपछि अग्रपंक्तिको जिम्मा हेनरिक मिखितार्यानलाई दिइएको थियो। उक्त खेलमा दुवै टोलीलाई तीन अंक महत्वपूर्ण भए पनि एक–एक अंकमा नै चित्त बुझाउन बाध्य भए।

खेलको शुरूआतमा एग्युरोको प्रहार पोस्टमा लागेर बाहिरिएपछि सिटीले गोल अग्रता लिने अवसर गुमाएको थियो। त्यस्तै सिटीका ग्याबरिएल जिससको गोल रेफ्रिले अफसाइड लिएका थिए। जिससले हेडरमार्फत गोल गरे पनि उनको गोललाई सहायक रेफ्रीले अफसाइड संकेत गरेपछि सिटी स्पष्ट तीन अंक जोड्न वंचित भयो।

बराबरीपछि सिटी लिगमा ५ खेल बाँकी छँदा ६५ अंकका साथ चौथो स्थानमा छ भने समान ३३ खेल खेलेको युनाइटेड ६४ अंकका साथ पाँचौं स्थानमा छ।

तेस्रो स्थानमा रहेको लिभरपुलले भने ३४ खेलबाट ६६ अंक जोडेको छ। ३२ खेलबाट ६० अंक जोडेका आर्सेनल छैटो स्थानमा रहेको छ।