झापामा जनता आवास कार्यक्रम सुरु

0
Shares

नेपाल समाचारपत्र, भद्रपुर । झापामा जनता आवास कार्यक्रम सुरु भएको छ । सरकारले यसैबर्षदेखि झापामा ५ सय घरपरिवारलाई निशुल्क घर बनाइदिने कार्यक्रम ल्याएसगै जनता आवास आयोजना कार्यक्रम कार्यान्वयन एकाई झापाले रकम वितरण कार्य सुरु गरेको हो ।

कार्यक्रम कार्यान्वयन एकाईले भद्रपुरमा शुक्रवार आयोजना गरेको एक कार्यक्रमका बिच विर्तामोड नगरपालिका साविक गरामनीका ११ घरपरिवारलाई ५ लाख ९० हजार ४ सय २५ रुपैया हस्तान्तरण गरेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले परिवारका सदस्यलाई नगद ५३ हजार ६ सय ७५ रुपैयाको दरले प्रदान गरेका थिए । रकमप्रदान गर्दै प्रजिअ खत्रीले सरकारले घर बनाउन दिएको रकमको दुरुपयोग नगर्न सम्बन्धि घरधनीलाई आग्रह गरेका थिए । घर बनाउन दिएको रकमको दुरुपयोग गरे कानुन बमोजिम कार्वाही हुने उनले बताए ।

यसअघि एकाईले बुधवारेमा २३ घरपरिवारलाई १२ लाख ३४ हजार ५ सय २५ रुपैया हस्तान्तरण गरिसकेको कार्यक्रम कार्यान्वयन एकाई झापाका इन्जिनियर सुमनकुमार मिश्रले जानकारी दिए ।

सरकारले चालु आर्थिक बर्षमा दलित, विपन्न, मुस्लिम, लोपउन्मुख र अति सिमान्तकृत समुदाय मध्येबाट ५ सय घरपरिवारलाई २ लाख १४ हजार ७ सयको दरले दुई पाखे, दुई कोठा, भान्सा, वरण्डासहित निशुल्क आवास निर्माणका ३ करोड बजेट झापामा पठाएको छ । घर बनाउने बजेटलाई विभाग निरन्तरता दिने जनाइएको छ ।

झापाका १५ बटै स्थानीय तहबाट ५ सय घर परिवार छनौट गरिसकेको र छनौट मध्येपनि १५० घरपरिवारसंग आवास निर्माणको सम्झौता भइसकेको इन्जिनियर मिश्रले बताए । ३ सय घरपरिवारको निरीक्षण भइसकेकोले अव क्रमश. सबै घरपरिवारलाई पहिलो किस्ता वापत सो रकम वितरण गरिने उनको भनाई छ ।

सहरी विकास मन्त्रलाय, सहरी विकास तथा भवन निर्माण विभाग मार्फत आएको बजेट मध्ये आवास बनाउन सुरु गरिसकेका परिवारलाई पहिलो किस्ता बापत २५ प्रतिशत, दोस्रो वापत ३० प्रतिशत, तेस्रो वापत ३५ र अन्तिम किस्तामा १० प्रतिशत रकम उपलब्ध गराइने छ ।