हतियारवालाले सिडियोलाई टेरेनन


नेपाल समाचारपत्र, बाँके । बाँकेमा ६७ जनाले मात्रै हतियार बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले पटक–पटक ताकेता गर्दा पनि हतियार बुझाउन बेवास्ता गरिएको छ । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थका अनुसार, जिल्लामा ७ सय ९८ वटा हतियार दर्ता भएका छन् । स्थानीय निकायको निर्वाचनलाई लक्षित गरेर प्रशासनले हतियार बुझाउन सूचना जारी गरेको थियो ।

घरघरमा रहेका हतियारको चुनावमा दुरुपयोग हुन सक्ने भएकाले प्रशासनले हतियार बुझाउन भनेको थियो । हतियार बुझाउन बेवास्ता गरेकालाई प्रशासनले खोजी–खोजी कारबाही गर्ने जनाएको छ । बाँकेमा दर्ता भएका सबै हतियार जिल्लामा नरहेको प्रशासनको बुझाई छ । प्रमुख जिल्ला अधिकारी पन्थले चालु आर्थिक वर्षमा १ सय १८ र गतवर्ष एक सय १५ वटा हतियार नविकरण भएकाले सबै हतियार जिल्लामा नरहेको बताउनुभयो ।

‘हतियार जुन जिल्लामा पनि दर्ता र नविकरण गर्न सकिन्छ । बाँकेमा दर्ता भएका सबै हतियार यही छ जस्तो लाग्दैन, प्रजिअ पन्थले भन्नुभयो, कतिपय हतियार द्वन्द्वकालमा हराएको र लुटिएका पनि छन् ।’
लाइसेन्स भएका हतियारको दुरुपयोग भएको बाहिर नआएको प्रशासनको भनाई छ । ‘निर्वाचन सुरक्षा चुनौतीलाई कम गर्न हतियार मागिएको हो, यस्ता हतियारको दुरुपयोग नै भयो भन्ने चाहि सूचना आएको छैन, प्रजिअ पन्थले भन्नुभयो ।

प्रजिअ पन्थले बाँकेमा अहिलेसम्म सुरक्षा अवस्था सामान्य रहेको बताउनुभयो । जिल्ला सुरक्षा समितिले तीन वटा सुरक्षा रणनीति बनाएको छ । प्रजिअ पन्थका अनुसार, दलको प्रतिस्पर्धा मैत्रीपूर्ण बनाउने, सुरक्षा निकायलाई एकीकृत ढंगले परिचालन गर्ने र अवरोधलाई निस्तेज पार्ने रणनीति बनाइएको छ । त्यसका साथै मतदाता, उम्मेदवार, नेता, निर्वाचन कर्मचारीको सुरक्षा योजना बनाइएको छ । प्रजिअ पन्थले खुल्ला सीमाना नै सुरक्षा चुनौती रहेको प्रष्ट पार्नुभयो ।

उहाँले खुल्ला सीमानाको चुनौतीलाई कम गर्नका लागि सीमावर्ती अधिकारीहरुसँग छलफल गरिरहेको बताउनुभयो । ‘नजिकका कमाण्डरहरुले आफ्नै तरिकाले समन्वय गरेका छन्, हामीले पनि उच्च तहमा गरिरहेका छौं, प्रजिअ पन्थले भन्नुभयो ।

बाँकेमा दुई लाख ४६ हजार ७८ जना मतदाता रहेका छन् । नेपालगञ्ज उपमहानगरपालिकामा ६२ हजार ३ सय ९६, कोहलपुर नगरपालिकामा ३७ हजार ३ सय २३, नरैनापुर गाउँपालिकामा १५ हजार ४३, राप्तीसोनारी गाउँपालिकामा ३३ हजार ७ सय ५४, बैजनाथ गाउँपालिकामा ३२ हजार ४ सय ६२, खजुरा गाउँपालिकामा २९ हजार ४ सय १५, डुडुवा गाउँपालिकामा १७ हजार ६ सय ९, जानकी गाउँपालिकामा १८ हजार ७८ जना मतदाता रहेका छन् ।

जिल्लामा २७ दल रहेकोमा १६ दलले मात्रै चुनाव चिन्ह पाउने निर्वाचन कार्यालय, बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले जानकारी दिनुभयो ।