बउचार्डको नजरमा सारापोभा ठग

0
Shares

लन्डन, (एजेन्सी)
विम्बल्डन २०१४ महिला सिंगल्सकी उपविजेता युजीनी बउचार्डले मारिया सारापोभालाई ठग भनेर सम्बोधन गरेकी छन्।

क्यानेडेली खेलाडीले सारापोभालाई ठग भएको र पुनः खेल्न नहुने समेत आफ्नो टिप्पणी राखिन्। रसियन सारापोभाले १५ महिनाको डोपिङ प्रतिबन्धबाट फर्केर बुधबार पहिलो पटक खेलेकी थिइन्। उनले स्टुटगार्ट ओपनमा इटालीकी रोबेर्टा भिन्चीलाई ७–५, ६–३ ले हराएकी थिइन्। अक्टोबरमा कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (कास) ले सारापोभाले इनर्जीका लागि प्रतिबन्धित औषधि नखाएको निष्कर्ष निकालेको थियो। कासकै कारण उनले ९ महिनाको छुट पाइन्। जबकि अन्तर्राष्ट्रिय टेनिसले उनलाई २ वर्षको प्रतिबन्धित लगाएको थियो।

बउचार्डले भने उनीविरुद्ध टिप्पणी गर्दै भनिन्– ‘उनी ठग हुन्। मलाई लाग्छ ठगले कुनै पनि खेलमा खेल्न पाउँदैनन्। यस्तोलाई फेरि खेल्न दिनु पनि हुँदैन।’
२३ वर्षीया बउचार्ड विश्व महिला टेनिसमा ५९औं स्थानमा छिन्। उनले टीआरटी वल्र्डलाई बताइन्– ‘मेरो विचारमा डब्ल्यूटीएले युवा खेलाडीलाई गलत सन्देश दियो कि ठगी गर र हामी तिमीलाई न्यानो हातमा स्वागत गर्नेछौं। यो ठीक होइन।’

पाँच पटकको ग्रान्डस्लाम विजेता सारापोभा गत वर्ष २०१६ मार्चमा निलम्बित भएकी थिइन्। उनको मेल्डोनियम लिएको डोपिङ परीक्षणमा पोजिटिभ आएको थियो। उनलाई यस स्टुटगार्ट प्रतियोगिताका लागि वाइल्ड कार्ड दिइएको थियो। त्यस्तै ३० वर्षीया खेलाडीले मेड्रिड र रोम प्रतियोगिताका लागि पनि वाइल्ड कार्ड प्राप्त गरेकी छिन्। आगामी मे १६ देखि शुरु हुने वर्षको दोस्रो ग्रान्डस्लाम प्रतियोगिता फ्रेन्च ओपनका लागि पनि उनलाई वाइल्ड कार्ड दिन लागिरहेको छ।
सारापोभाले १७ वर्षको उमेरमा सन् २००४ मा भएको विम्बल्डन जितेर करिअरमा पहिलो ग्रान्डस्लाम उपाधि हासिल गरेकी थिइन्। उनले फ्रेन्च ओपन २०१४ मा जितेकी थिइन्। निलम्बित भएपछि उनको अंक पनि समाप्त भएको छ। सारापोभासँग अहिले वरीयता छैन। वरीयताविहीन बनेकी उनी जारी स्टुटगार्ट ओपनको फाइनलमा पुग्न आवश्यक पनि रहेको छ।

सारापोभाले बीबीसीलाई बताइन्– ‘मलाई प्रतियोगिताका निर्देशकहरूले वाइल्डकार्ड दिइरहेका छन् र मैले यसलाई स्वीकार गरिरहेकी छु।’
बुधबारको खेलमा विश्वकी ३४औं स्थानकी खेलाडी भिन्चीसँग सारापोभाले प्रतिस्पर्धा गरेकी थिइन्। उनको शुरुआत जितबाट भएको पनि छ। सारापोभाले खेलमा ११ एस र ३९ विनर्स प्रहार गरेकी थिइन्। उनले अर्को खेलमा रसियन खेलाडी एकाटेरिना माकारोभासँग खेल्नेछिन्। उनले कोर्टमा फर्किन धेरै कुरेको भन्दै बताइन्– ‘मैले कुनै पनि बल प्रहार गरेविना नै लामो समय व्यतित गरेँ। म स्कुल गएँ, आफ्नै व्यवसायमा लागँे र सामान्य जीवन बिताएँ। मैले र्याकेटलाई मबाट टाढा राखेकी थिएँ।’