कांग्रेस–एमालेकै प्रतिस्पर्धा


ज्ञानमणि नेपाल कालोटोपी, चण्डेनीमण्डन, काभ्रे
जिल्लाको मण्डनदेउपुर नगरपालिका (साविकको चण्डेनीमण्डन गाविस) वडा नं. १० मा पनि यतिखेर चुनावी सरगार्मी ह्वात्तै बढेको छ। निर्वाचमा यहाँ यसपटक नयाँ अनुहारहरू देखिएका छन्। यस वडामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै कडा प्रतिस्पर्धा हुने निश्चित भएको छ। कांग्रेसका तर्फबाट युवाहरूको नेतृत्व गर्दै विष्णुमणि नेपाल वडा अध्यक्षका लागि उम्मेदवार भएका छन् भने एमालेले गणेशप्रसाद नेपाललाई उम्मेदवार बनाएको छ। दुवै उम्मेदवारहरू उत्तिकै सक्रिय छन्।

अबको नेतृत्व युवाहरूमा जानुपर्छ भन्ने मान्यता बोकेका यहाँका सयौं युवाहरूको नेतृत्व गर्दै उम्मेदवार बनेका विष्णुमणि नेपाल छोटो समयमै युवाहरूको मनमुटुमा बस्न सफल भएका छन्। उनले यसअघि कुनै राजनीतिक दलहरूको पदमा नभए पनि गाउँमा विकास निर्माण र समाजसेवामा निकै सक्रियता देखाएका थिए। भूकम्पपछिको राहत वितरण, सिँचाइ व्यवस्था, रेडक्रम उपशाखा गठन जस्ता कार्यमा उनी निकै खटेका थिए। त्यसै गरी नेपालकै पहलमा मण्डनदेउपुर नगरपालिकामै पहिलोपटक सामुदायिक अस्पतालको निर्माण पनि शुरू भई निर्माणाधीन अवस्थामा छ। अस्पताल भवन निर्माणका लागि उनले व्यक्तिगत रूपमै २६ लाख मूल्य बराबरको जग्गा पनि दान दिएका छन् भने विद्यालय भवन निर्माण र खानेपानी आयोजना निर्माणमा पनि उनको उल्लेख्य योगदान छ।

त्यस्तै चण्डेनीमण्डनमा नेकपा एमालेको तर्फबाट संगठित गणेशप्रसाद नेपाल यस अघि पेसाले शिक्षक हुन्। उनले शिक्षण पेसाबाट राजीनामा दिएर वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्। यस भेगको विकास निर्माणमा उनको योगदान राम्रो छ। गाउँमा कुनै सामाजिक काम गर्नुपर्यो भने वा कसैलाई केही अप्ठ्यारो पर्यो भने स्थानीय उनैलाई खोज्ने गर्छन्। गाउँको मुहार फेर्नका लागि आफूले म्ेदवारी दिएको उनको भनाइ छ।

यस भेगमा माओवादी केन्द्र र अन्य साना दलहरूले पनि आ–आफ्नो उम्मेदवारी दिएका भए पनि दुई ठूला दलबीच नै प्रतिस्पर्धा हुने स्थानीय बासिन्दा बताउँछन्। चण्डेनीमण्डनमा २ हजार १ सय मतदाता छन्।