२ सय ९५ जेष्ठ नागरिक सम्मानित

0
Shares

नेपाल समाचारपत्र
ताप्लेजुङ
मातातीर्थ औंशीको अवसर पारेर बुधबार ताप्लेजुङको त्रिवेणी आठराई गाउँपालिकामा २ सय ९५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ। सो गाउँपालिकाको चाँगेमा जेष्ठ नागरिकका लागि विगत तीन वर्षदेखि काम गर्दै आएको चाँगे धर्ती आमा कोष नामक संस्थाले उनीहरूलाई सम्मान गरेको हो।
चाँगेका विभिन्न चार स्थानमा एकै दिन कार्यक्रम गर्दै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको संस्थाका सल्लाहकार विजय गोठाले गौतमले बताउनुभयो। त्रिपुरेश्वर आधारभूत विद्यालय, चाँगे मावि, छातेढुङ्गा मावि र सरस्वती आधारभूत विद्यालय गरी चार केन्द्रबाट ६५ वर्षमाथिका सम्पूर्ण नागरिकलाई सम्मान गरिएको उहाँको भनाइ छ।

जसमा १ सय ४० जना वृद्धलाई ढाकाको टोपी र १ सय ५५ जना वृद्धालाई चौबन्दी चोलोबाट सम्मान गरिएको बताइएको छ। चाँगेमा जन्मेर अन्यत्र कार्य क्षेत्र बनाएकाद्वारा संकलन गरिएको करिब ३४ लाख बराबरको अक्षय कोषबाट प्राप्त ब्याजबाट तेस्रोपटक ज्येष्ठ नागरिकको सम्मान गरिएको संस्थाको भनाइ छ। ७१ सालबाट सो संस्थाले निरन्तर ज्येष्ठ नागरिकको सम्मान गर्दै आएको छ।