पाकिस्तान सात विकेटले विजयी

0
Shares

जमैका, (एजेन्सी)
पाकिस्तानले घरेलु टोली वेस्टइंडीजलाई पहिलो टेस्टमा सात विकेटले हराएर तीन खेलको टेस्ट शृंखलामा १–० को अग्रता लिएको छ।

किंग्सटनमा भएको खेलमा पाकिस्तानका स्पिनर यासिर शाह नायक बनेका थिए। यासिरले पहली इनिङमा २ तथा दोस्रो इनिङमा ६ गरी कूल ८ विकेट लिएर पाकिस्तानको जितमा प्रमुख भूमिका खेले। उनी म्यान अफ द म्याच घोषित भएका थिए।

खेलको चौथो दिन समाप्तिसम्म वेस्टइन्डिजले आफ्नो दोस्रो इनिङमा ४ विकेट गुमाएर ९३ रन बनाएको थियो। मंगलबार अन्तिम दिन यासिरको उत्कृष्ट बलिङमा वेस्टइन्डिजका ब्याटसम्यान चल्न सकेनन्। यासिरले ६३ रन खर्चेर ६ विकेट झार्दा वेस्टइन्डिज १ सय ५२ रनमै समेटियो। पाकिस्तानका लागि जित्न मात्र ३२ रन बनाए पुग्ने समीकरण तयार भयो।

जवाफमा पाकिस्तानले तीन विकेट गुमाएर १०.५ ओभरमा सो लक्ष्य पूरा गर्दै शृंखलामा अग्रता लियो। दोस्रो इनिङमा पाकिस्तानका लागि अहमद सहजाद र युनिस खानले ६–६ रन बनाए भने अजहर अलिले १ रन जोडेका थिए। मिसबाह उल हकले दुई छक्का प्रहार गरेर थप विकेट गुम्न दिएनन्। वेस्टइन्डिजका बलरमा शैनन गेब्रियल, जोसेफ र विशुले १–१ विकेट लिएका थिए।

खेलको हाइलाइट
यस टेस्ट खेलको हाइलाइट भनेको युनिस खानले १० हजार टेस्ट रन पूरा गरेका हुन्। सबिना पार्कमा युनिसले रोस्टन चेसको बललाई चौका प्रहार गरेर सो कोसे ढुंगामा पुगेका थिए। योसँगै उनी टेस्टमा १० हजार रन पुरा गर्ने पहिलो पाकिस्तान ब्याटसम्यान समेत बने। त्यस्तै ३९ वर्षीय युनिस सो कोसेढुंगामा पुग्ने विश्वका १३औं ब्याटसम्यान हुन्। उनले यस शृंखलापछि अन्तर्राष्ट्रिय करिअरबाट सन्यास लिने सोच बनाइसकेका छन्।