रेडक्रसबाट ३५ लाख लाभान्वित


काठमाडौं, (नेस)
नेपालमा २०७२ साल वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पपश्चात् तत्कालै रेडक्रसले सञ्चालन गरेको आकस्मिक प्रतिकार्यमार्फत् ३५ लाख बढी जनतामा आवश्यकीय उद्धार र राहत, स्वास्थ्य, खानेपानी तथा सरसफाइजस्ता सेवा पुर्याउन सफल भएको जनाएको छ। दोस्रो चरणमा एकीकृत पुनर्लाभ कार्यक्रममार्फत् प्रभावित समुदायहरू रेडक्रसको नगद तथा प्राविधिक सहयोगको माध्यमबाट भूकम्प प्रतिरोधी सुरक्षित घरहरू निर्माणलगायत एकीकृत गतिविधिहरूमा संलग्न भएको उल्लेख गरेको छ। तर रेडक्रसले भूकम्पका समयमा दातृ निकाय तथा सहयोगी हातहरूले उपलब्ध गराएको सहयोग लक्षितवर्गमा नपुर्याइ कागजमा मात्र हिसाब मिलान गरी पीडितलाई ठगेको आरोप तथा चर्को गुनासो आइरहेको छ।

रेडक्रसको आधिकारिक प्रतिवेदनमा भनिएको छ– ‘रेडक्रस घर बनाउने सहयोग कार्यमा मात्र सीमित छैन, स्वास्थ्य, सरसफाइ, खानेपानी, जीविकोपार्जन जस्ता एकीकृत गतिविधिहरूमार्फत् प्रभावितहरूको जीवनमा परिवर्तन ल्याउँदै छ। तर, वास्तवमै अझै धेरै गर्न पनि बाँकी छ।

रेडक्रसले यसो भनिरहँदा हालसम्म विश्वका कुन–कुन निकायले कुन–कुन क्षेत्रमा केकति सहयोग गरे र व्यक्तिगत रूपमा या संस्थागत रूपमा सहयोग गर्ने दाताहरूको सहयोगको सदुपयोग कसरी कहाँ भइरहेको छ भन्ने बारेमा भने आधिकारिक धारणा अझै आउन सकेको छैन।

यसैसन्दर्भमा नेपाल रेडक्रसले भूकम्पको दोस्रो वर्षमा प्रवेश गरेसँगै सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ– ‘नेपाल सरकारको पुनर्लाभ⁄पुनर्निर्माण प्राथमिकतासँग अनुकूल हुने गरी नेपाल रेडक्रस सोसाइटीले रेडक्रस अभियानको सहयोगमा एकीकृत पुनर्लाभ कार्यढाँचा तयार पारेको छ। सोअनुसार नेरेसोका स्वयंसेवक र कर्मचारीहरू भूकम्प अति प्रभावित १४ जिल्लाहरूका शहरी र अति दुर्गम क्षेत्रमा रहेका प्रभावितहरूको सहयोगका लागि स्थानीय स्तरमा अनवरत क्रियाशील छन्।

रेडक्रसबाट तालिम प्राप्त ४ हजार बढी डकर्मीहरू पुनर्निर्माण कार्यमा संलग्न छन्। केही मानिसहरू निर्माण सम्पन्न घरमा बस्न थालेका छन् र उनीहरूले तीनै किस्ता नगद सहयोग लिइसकेका छन्। रेडक्रसले ७ जिल्लामा कूल ७ हजार निजी आवास निर्माणमा सहयोग प्रदान गर्न सरकारसँग सम्झौता गरेकोमा हालसम्म ६ हजार ३ सय ७५ परिवारले पहिलो किस्ताबापत ५० हजारका दरले रू.३१ करोड ८७ लाख ७५ हजार रकम बुझिसकेका छन्। ८ सय १ परिवारले दोस्रो किस्ताबापत रू. १ लाख ५० हजारका दरले १२ करोड १५ लाख रकम बुझिसकेका छन्। हालसम्म ५ सय ६८ घरको निर्माण सम्पन्न भइसकेको छ। जसमध्ये केही परिवारले अन्तिम किस्ता पनि बुझिसकेका छन्।