राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक राजतन्त्रात्मक गणतन्त्रको वकालत


नेपाल समाचारपत्र
काठमाडौं
ष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गर्दै प्रत्येक गाउँ तथा नगरपालिकामा कम्तीमा २५ बेडको अस्पताल बनाउनेदेखि गाउँ तथा नगरपालिकाले आफ्नो कुल बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा लगानी गर्नेसम्मको प्रतिवद्धता गरेको छ।

गाउँ तथा नगरपालिकाबाट अनुदान पाउने विद्यालयमा माध्यामिक तहसम्म निःशुल्क पढाइको व्यवस्था गर्ने राप्रपाले जनाएको छ। राप्रपाले निजी र सार्वजनिक विद्यालयमा पढाइ हुने पाठ्य सामग्रीमा पनि एकरूपता ल्याउने प्रतिबद्धता गरेको छ। गाउँ तथा नगरपालिकाबाट अनुदान प्राप्त अस्पतालमा प्राथमिक स्वास्थ परीक्षण निःशुल्क गरिनुका साथै उपचार कोष खडा गरी क्यान्सर तथा मृगौला फेल भएका बिरामीलाई १ लाख उपचार खर्च उपलब्ध गराइने राप्रपाले घोषणापत्रमा उल्लेख गरेको छ।

प्रत्येक वडामा दुई जना महिला स्वास्थ्य स्वंयसेविका नियुक्ति गरिनुका साथै ५ वर्षभित्र प्रत्येक नागरिकको स्वास्थ्य बीमा गरिने पनि राप्रपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ। साथै राप्रपाले घोषणापत्रमा विपन्न परिवारका छोरा–छोरी जन्मनासाथ सुपोषणका लागि ५ हजार एकमुष्ट अनुदान दिने उल्लेख गरेको छ।

राप्रपाले राष्ट्रियताको सुदृढीकरण गर्ने भन्दै गाउँ तथा नगरपालिकाअन्तर्गत प्रत्येक कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीर राख्ने, पाठ्यक्रममा राष्ट्रियताको भावना अभिवृद्धि हुने विषयहरू समावेश गरिनुका साथै स्थानीय भाषा र पहिचानको संरक्षण गर्दै विभिन्नतामा एकताको मान्यतालाई सुदृढ बनाउने पनि उल्लेख गरेको छ। राप्रपाले आफ्नो घोषणापत्रमा सबै धर्मका बीचमा समानता र सबै धर्मलाई बराबरीको स्वतन्त्रता सुनिश्चित गर्ने भन्दै लोभ लालच, भ्रम सिर्जना गरेर योजनाबद्ध र जबरजस्ती धर्म परिवर्तन गराउन नदिने उल्लेख गरेको छ। गौ हत्यालाई पूर्ण निषेध गरेको राप्रपाले गौ रक्षाका लागि प्रत्येक गाउँ तथा नगरपालिकामा गौशालाहरू निर्माण गर्ने जनाएको छ।

सामाजिक सुधारका लागि राप्रपाले सबै प्रकारका भेदभाव हटाउने, मन्दिरमा सबै जाति समुदायलाई समानरूपमा पूजा–आराधना र उपासना गर्न पाउने व्यवस्थाको सुनिश्चित गर्नुका साथै बालविवाह र बहुविवाहलाई पूर्णरूपमा रोक्ने जनाएको छ। बुधबार सार्वजनिक गरिएको राप्रपाको घोषणापत्रमा आवास तथा भोजन योजना तथा गरिबी निवारण र रोजगार प्रवद्र्धनमा पनि विशेष ध्यान दिने जनाएको छ। गाउँ तथा नगरपालिकाका प्रत्येक परिवारमा कम्तीमा एक जनालाई रोजगारी उपलब्ध गराउने प्रतिबद्धता पनि राप्रपाले गरेको छ।

राप्रपाले आफ्नो घोषणापत्रमा गाउँ तथा नगरपालिकाभित्र २५ जनाभन्दा बढीलाई रोजगारी उपलब्ध गराउने उद्योग तथा व्यवसायीलाई १० वर्षसम्म सबै प्रकारका स्थानीय कर मिनाह गर्ने पनि प्रतिबद्धता गरेको छ। राप्रपाले कृषि उत्पादनलाई पनि जोड दिँदै संगठित एवं संस्थागत कृषि व्यवसायलाई प्राथमिकता दिने, साना सिँचाइ योजना कार्यान्वयन गर्ने, कृषि उत्पादनको बिक्री–वितरणलाई सहयोग पुग्ने गरी हाटबजार सञ्चालन गर्नेलगायतको योजना अघि सारेको छ।

राप्रपाले पूर्वाधार विकासलाई पनि जोड दिएको छ। प्रत्येक घरधुरीमा बिजुली खानेपानी पुर्याउने प्रतिबद्धता गरेको राप्रपाले ५ वर्षभित्र प्रत्येक वडामा मोटरबाटो पुर्याउने जनाएको छ। १ वर्षभित्र प्रत्येक वडाको समेत अलग–अलग भवन निर्माण गर्ने जनाएको राप्रपाले यातायात, सञ्चार र साना जलविद्युत् आयोजनाको योजनाबद्ध विकासका लागि पनि ध्यान दिने उल्लेख गरेको छ।
सुशासन र भ्रष्टाचारमुक्त प्रशासन, स्थानीय ऊर्जा, पर्यटन विकास र पर्यावरण संरक्षण, महिला सशक्तीकरण, गरिबी निवारण, तराई मधेसको समुत्थानलाई पनि राप्रपाले प्राथमिकतामा राखेको छ। राप्रपाले प्रत्येक नगरपालिकालाई १० वर्षभित्र स्मार्ट सिटी बनाउने योजना पनि घोषणापत्रमा समावेश गरेको छ।
राप्रपाले स्थानीय निकायका कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीर राख्ने कुरासमेत आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।

राजसंस्थाको बारेमा घोषणापत्रमा उल्लेख छ– ‘अबको राजसंस्था परिवर्तनका पक्षधरहरूलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुनेछ। राजसंस्थासहितको लोकतन्त्रको अवधारणा त्यस्तो सम्झौताको सूत्र हुन सक्दछ। गणतन्त्र राष्ट्रिय यथार्थ बनिसकेको वर्तमान अवस्थामा राजसंस्थाबारे आवश्यक परे जनताको प्रत्यक्ष अभिमतका लागि जनमतसंग्रह गर्नु उपयुक्त विकल्प हुनेछ।’