गाईजात्रा !

0
Shares

चुनावको तिथि नजिकिँदै गइरहेको छ तर सुरक्षा दिनुपर्ने एउटा निकाय नेपाल प्रहरीमा भने अहिले भाँडभैलो भइरहेको देखिएको छ। आखिर यो किन भइरहेको हो कुरा बुझ्न धेरैलाई गाह्रो परिरहेको छ।

प्रहरी अधिकृतहरू एक अर्कालाई सिध्याउने गेम प्लानमा लागे भने जनताको सुरक्षा के होला ? चेन अफ कमान्ड अब के होला ? गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। राजनीतिक संक्रमण र जुँगाको लडाइँले गर्दा यो बेथिति निम्त्याएको बुझ्न कठिन छैन। अब प्रहरीले कुनै पनि मामिलामा अनुसन्धान गर्यो भने पनि त्यो कतिको विश्वसनीय रूपमा स्थापित हुन सक्ला भन्ने प्रश्न उठ्न थालिसकेको छ। अब यो निकायलाई जोगाउने हो कि बर्बादीको खाडलमा जाक्ने हो त्यो केही दिनमा देखिएला नै। केही व्यक्तिहरूको जुँगाको लडाइँले त्यति प्रभावशाली संगठनलाई बलीको बोको बनाउने कार्यलाई कहीं नभएको गाईजात्रा नभनेर के भन्ने ? धरहरावरपरको यो प्रश्नबारे पाठकबृन्द केही भन्नुहुन्छ कि !