चुनाव खर्च खोज्दै चेपाङ उमेदवार


नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरका विकट पहाडी भेगमा बसोबास गर्ने प्रजा (चेपाङ) जाति आर्थिक, सामाजिक, शैक्षिक हरेक हिसाबले निकै पछाडि परेको छ। जंगलमा फिरन्ते जीवन बिताउनु, गिठ्ठा भ्याकुर खोज्नु, माछा मार्नु र शिकार खेल्नु यिनीहरूको दिनचर्या हो।

खोरिया गरेर उत्पादन गरेको थोरबहुत अन्नले वर्षको चार महिना पनि खान पुग्दैन। सानै उमेरमा बिहे गर्ने, बग्रेल्ती सन्तान जन्माउनाले आमा र बच्चाको स्वास्थ्यस्थिति निकै कमजोर पाइन्छ। अत्यन्त गरिबीका कारण कतिपयलाई शरीर ढाक्ने लुगासमेत नहुँदा निर्वस्त्र बस्नुपर्ने बाध्यता छ।

शिक्षामा निकै पछाडि परेको यो समुदायबाट हालसम्म प्रवेशिका उत्तीर्ण गर्नेको संख्या ८÷१० जनाभन्दा बढी छैन। प्रजा बालबालिकालाई स्कुल भर्ना गराउन निकै कठिन हुन्छ। अभिभावकमा चेतनाको अभाव, लगाउने लुगा अभावका कारण उनीहरू विद्यालय आउन नसकेका हुन्।
प्रजा समुदायको विकासका लागि २०३४ सालदेखि प्रजा विकास कार्यक्रम लागू गरे पनि उनीहरूको जीवनस्तरमा खासै सुधार आएको पाइँदैन।
स्थानीय विकास मन्त्रालयबाट सञ्चालन हुँदै आएको उक्त कार्यक्रम जनजाति विकास प्रतिष्ठानले सञ्चालन गरेको छ। बाह्य संस्थाको प्रयासले आफ्नो विकास हुने नदेखेपछि २०५७ सालमा प्रजा एकीकृत समाजको स्थापना गरिएको छ।

जंगल फँडानी गरेर बसोवास गर्ने यो जातिको आफ्नो भन्ने खास कुनै सम्पत्ति छैन। अर्काको काम गरेर, भारी बोकेर, जडिबुटी संकलन, च्युरीको घ्यु र मह काढेर कमाएको थोरबहुत आम्दानीले गुजारा चलाउनुपर्छ। पहिला जग्गा नापी दर्ता हुँदा सरकारी कर लाग्ने डरले आधाभन्दा बढी चेपाङले आफूले कमाउँदै आएको जग्गा पनि आफ्नो नाममा दर्ता नगरेको कारण आधाभन्दा बढीसँग जग्गाधनी प्रमाणपुर्जा छैन।
आफ्नै मौलिक संस्कृति, भेषभुषा र सामाजिक रहनसहन भएको यस जातिलाई बाहिरी दुनियाँसँग परिचित गराएर उनीहरूको जीवनस्तर सुधार ल्याउनेतर्फ ध्यान दिनु जरुरी देखिन्छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता र साँस्कृतिक विशिष्टताका कारण यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ। यिनीहरू राजनीतिमा समावेश हुन चाहन्छन्। तर, खर्च नभएकाले आफूहरू उमेदवार हुनबाट वञ्चित हुने हो कि भन्ने चिन्तामा उनीहरू छन्।
मकवानपुरको कैलाश गाउँपालिका–७ अध्यक्षमा उमेदवारी दिन चाहेका नमूना चेपाङसँग चुनाव लड्ने खर्च छैन। चेपाङ बाहुल्य क्षेत्रमा निर्वाचनमा भाग लिने मनसाय बोकेका चेपाङ उमेदवारसँग चुनाव लड्ने खर्च छैन।
माओवादी केन्द्रले गाँजा प्रभावित गाउँमा चुनावी गतिविधि अगाडि बढाएको कैलाश गाउँपालिका इन्चार्ज बालकुमार मल्ल बताउँछन्। गाउँमा युवा परिचालन गर्न चेपाङ उमेदवारसँग आर्थिक अभाव रहेको इञ्चार्ज मल्ललाई थाहा छ। गाउँमा इमान्दारीपूर्वक काम गर्ने अगुवासँग आर्थिक हैसियत न्यून रहेको मल्ल बताउँछन्।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै उमेदवार छनोट तीव्ररूपमा भइरहेको छ। कोही टिकट पाउँन दौडधुप गरिरहेका छन् भने कोही टिकट पाएपछिको आर्थिक व्यवस्थापनको चिन्तामा छन्।
ग्रामीण भेगका कतिपय उमेदवार टिकट पाए पनि आर्थिक स्रोतको जोहो गर्न नसक्ने तनावमा छन्। निर्वाचनमा लाग्ने सामान्य खर्चको समेत व्यवस्थापन नहुँदा उनीहरूमा चिन्ता बढेको हो।
निर्वाचनको महत्व जति भए पनि निर्वाचनका लागि आवश्यक रकम नभएका कारण चेपाङ बाहुल्य गाउँमा टाठाबाठा नै उमेदवार बन्ने सम्भावना देखिएको छ। कैलाश–७ का माओवादी केन्द्र वडा अध्यक्ष राजकुमार चेपाङ भन्छन्– ‘अधिकांश चेपाङ उमेदवारसँग गाउँमा प्रचारप्रसारका लागि आवश्यक पर्ने न्यूनतम खर्च छैन।’
कैलाश–७ मा माओवादी केन्द्रले चित्रबहादुर चेपाङको संयोजकत्वमा १ सय १ सदस्यीय चुनाव प्रचारप्रसार समिति बनाएको छ। आफूले चेपाङ गाउँमा निर्वाचनको गतिविधि अगाडि बढाएको नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रदीप लामाले बताए।
कर, राहदानी, मालपोतदेखि एक तहको न्यायिक निरूपणलगायत २२ वटा विषयमा कानुन बनाउनेसम्मको अधिकार सम्बन्धित गाउँसभा वा नगरसभालाई छ। त्यसैले पनि चेपाङ समुदायमा निर्वाचनको चासो र चिन्ता बढेको हो।
गाउँपालिकामा आउने नयाँ नेतृत्वले मोटरबाटो निर्माण गर्ने, शिक्षा, स्वास्थ्य, सञ्चार, सिचार्इं, खानेपानी, विद्युतीकरणजस्ता विकास निर्माणको काम गर्ने उनीहरूले बताएका छन्। त्यस गाउँका एउटा वडाका सबै घरमा पुग्न कम्तिमा ७ दिन लाग्छ। कैलाश गाउँपालिकामा मतदान केन्द्र २० र मतदाता ११ हजार ५ सय ९० छन्।