राजपा

0
Shares

मधेसका ६ घटक मिलेर नयाँ दल बनेको छ। राष्ट्रिय जनता पार्टी अर्थात् छोटकरीमा ‘राजपा’। छिमेकी भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) छ। कतिपयले उडाउनका लागि भाजपा जस्तै राजपा भन्न खोजे पनि धरहरालाई भने त्यस्तो लाग्दैन। नाम त अरू धेरैको मिल्न सक्छ।

जे होस् नाम निकै राम्रो छ। क्षेत्रीय पार्टीबाट राष्ट्रिय पार्टी बन्ने उनीहरूको चाहना यसबाट मुखरित भएको छ। हुन पनि ती दलका सबै नेता राष्ट्रिय अनुहार नै हुन्। त्यसैले क्षेत्रीयता, धार्मिकता र जातियताको जालोबाट माथि उठेर राष्ट्रिय पहिचानसहित अघि बढ्न खोज्नेलाई हतोत्साहित होइन प्रोत्साहित गर्नुपर्दछ। हामी सबै नेपाली हौं। नेपालमा रहेका हरेक जातजाति, क्षेत्र र धर्मको पहिचान भएमा र विकास भएमा नै मुलुकको विकास हुन्छ।

अब एकीकृत पार्टी चुनावमा पनि गएर अहिलेका ठालुहरूलाई पछार्ने अवस्था आयो भने त्यसलाई पनि जनताले नकारात्मकरूपमा लिने छैनन्। जनताको मन जित्ने गरी काम गरौं। देशको एजेण्डा लिएर अघि बढौं। अनि हेपून् त कसैले ? कि कसो पाठकवृन्द ? तपाईं हामी सबैले देशलाई उन्नतिको बाटोमा लग्नुछ। तर, त्यो उन्नति कसरी गर्ने भनेर सबै पार्टीहरूले फरक–फरक बाटो मात्रै रोजेका त हुन् नि। एउटै बाटोबाट गन्तव्यमा पुगौं भनेर कसैले हैंसे गर्छ भने त्यसमा दुखेसो किन गर्नु पर्यो र? राजपालाई धरहरा पनि बधाई र शुभकामना दिन चाहन्छ है।