चुनावी आमसभाको चहलपहल बढ्यो

0
Shares

वीरबहादुर बम
चुनावको पूर्वतयारीका लागि गाउँ हुँदै माओवादी केन्द्रले सदरमुकामा गमगढीमा पनि बुधबार जनसभा गरेको छ। आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय निकायको चुनावलाई लक्षित गर्दै मुगुमा माओवादी केन्द्रलाई अत्यधिक बहुमतले जिताउन चुनावको पूर्वतयारीका लागि सदरमुकाम गमगढीमा चुनावी जनसभा गरेको हो।

जनसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र ६ नं प्रदेशका संयोजक एवम् पूर्वसांसद मायाप्रसाद शर्माले मुगुलगायत कर्णालीका पाँच जिल्ला जनयुद्धकालदेखि माओवादीमय भएकाले योपटकको स्थानीय निकायको चुनावमा पनि माओवादी केन्द्रको वर्चश्व कायमै रहने बताउनुभयो। सिंहदरबारस्थित केन्द्रित जनताको अधिकार गाउँगाउँमा पुर्याउन माओवादी केन्द्र लागिपरेको भन्दै उहाँले चुनाव जसरी भए पनि नरोकिने धाराणसमेत राख्नुभएको थियो। उहाँले कसैको लोभलालचमा नलागी आफ्नो अधिकारका निम्ति पछि नहट्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो।

माओवादी केन्द्रले चुनावको पूर्वतयारीलाई लक्षित गरी जिल्लाका विभिन्न गाउँपालिकामा चुनावी जनसभासमेत गरेको छ। पहिलो चरणमा कार्मारोङ गाउँपालिका, दोस्रो चरण खत्याड गाउँपालिका, तेस्रो चरण सोरु गाउँपालिका हुँदै अन्तिम चरण हिजो बिहीबार छायानाथ रारा नगपालिकामा चुनावी जनसभा गरेको नेकपा माओवादी केन्द्र मुगुका जिल्ला इन्चार्ज विषबहादुर थापाले ले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

चुनावको मिति नजिकिँदै जाँदा माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवार यही ९ गतेसम्म छनोट गरी सक्ने र दोस्रो चरणमा पुनः गाउँ पस्ने इन्चार्ज थापाको भनाइ छ। यसैबीच पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत जनसभालाई सम्बोधन गर्न हुम्लाबाट मुगु आउने भनिए पनि मौसम प्रतिकूलका कारण आउन नसेकेको माओवादी केन्द्र मुगुले जनाएको छ। जनसभामा छायानाथ रारा नगरपालिकाभित्र रहेका साविका पाँच गाविसका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।